बालेनलाई ओली सरकारले किन लगाउन खोज्दैछ सनासो ?

सोमबार, फागुन १९, २०८१

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतमाथिको छानबिन प्रतिवेदन पठाउन पत्राचार गरेको छ ।

महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ५ पुसदेखि बिदामा राखेको छ । गुरागाईंले काठमाडौं भ्यू टावरको नक्सा पास गर्ने प्रक्रियामा अनियमितता गरेको आशङ्का गर्दै महानगरले ५ पुसदेखि बिदामा राखेको हो । प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा राखेर महानगरले उनीमाथि छानबिन गरिरहेको बताएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरको नियमित कामकाज रोकिएको छ र कर्मचारीले दुई महिनाको तलब पाएका छैनन् ।

काठमाडौं महानगरले २४ पुसमा नै मन्त्रालयलाई पत्राचार गरेर नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गरेको थियो । तर, मन्त्रालयले भने गुरागाईंमाथिको छानबिन प्रतिवेदन नबुझाउँदासम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाउने बताइरहेको छ ।

छानबिन प्रतिवेदन माग गरेको मन्त्रालयको पत्र पाएको बताउँदै महानगरले भन्यो, “हामी अहिले प्रतिवेदन पठाउँदैनौँ । पत्रको जवाफ मात्र पठाउँछौँ ।’ महानगरकाअनुसार गुरागाईंमाथिको छानबिन प्रतिवेदन अझै तयार भइसकेको छैन ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १३:२९
प्रतिक्रिया दिनुहोस्