सोसल मिडिया
युनिकोड
सत्तारुढ दल मध्येको सबैभन्दा ठुलो पार्टी एमाले अध्यक्ष केपी ओलीले प्रचण्ड सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई दबाब दिएको धेरै दिन बित्यो। प्रचण्ड पर्खा र हेरको अबस्थामा हुनाले उपेन्द्र रक्षात्मक बने तर अब भने उनले राजीनामा दिनै पर्ने अबस्था छ। राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्ने छनक दिएका छन्। नभन्दै उनले आजै राजिनामा बुझाउने भएका छन्। प्रधानमन्त्रीले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई समेटेर मन्त्रिपरिषद् पूनर्गठनको अन्तिम तयारी गरेका छन् । उपेन्द्र यादवको दल जनता समाजवादी पार्टी, नेपाल विभाजन भएर बनेको जनता समाजवादी पार्टीका सांसदहरु प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खानलाई समेटेर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् पूनर्गठनको तयारी गरेका हुन् ।
प्रधानमन्त्री दाहालले हिजै सरकारमा सहभागी जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा दिन सुझाएका थिए । यादव अहिले उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन् । पार्टी विभाजन भएको एक साता बित्नै लाग्दापनि यादव अझै सरकारमा टाँसिएर बसेका छन् । उनले पार्टी विभाजनपछिको पहिलो पत्रकार सम्मेलनमा आफूहरु सरकारबाट बाहिरिने पक्षमा नभएको र प्रधानमन्त्री दाहालले हटाएमात्रै बाहिरिने बताएका थिए । प्रधानमन्त्री दाहालले भने हिजै यादवलाई राजीनामा दिन निर्देशन दिएको बालुवाटार स्रोतको दाबी छ ।
उपेन्द्रले आफ्नो पार्टी प्रधानमन्त्री दाहालले नै फुटाएको आरोप र अब फुट्ने पालो प्रचण्डको पार्टी भनेर खुलासा गरेका छन् । अहिले प्रधानमन्त्री दाहाल र उपेन्द्र यादवबीच वारपारको लडाईं सुरु भएको छ । प्रधानमन्त्री दाहालको निर्देशनमा नै मधेश सरकारबाट माओवादी बाहिरिएको छ । माओवादीसँगै एमालेपनि बाहिरिएको छ ।
मधेश प्रदेशमा एमाले र माओवादीले जनमत पार्टी र लोसपासँग मिलेर सरकार गठनको गृहकार्य थालेका छन् । आजैबाट सरकारको नेतृत्वमा यीनै चार दलबाट दाबी पेश गर्नेगरि तयारी थालिनेछ । यता केन्द्रमा भने अशोक राई नेतृत्वको जसपाबाट प्रदीप यादवलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिनेगरि प्रधानमन्त्री दाहालले तयारी गरेका छन् । बालुवाटार स्रोतकाअनुसार यादवलाई आज सोमबार नै मन्त्रीमा नियुक्त गरिनेछ ।
जसपाबाट रञ्जु ठाकुरपनि मन्त्री बन्नेछिन् । ठाकुरलाई दिईने मन्त्रालयको भने टुँगो लागेको छैन् । यस्तै, हिसना खानलाई स्वास्थ्य राज्यमन्त्री बनाईनेछ । अहिलेका वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुँडीलाई पनि निरन्तरता दिने बालुवाटारको तयारी छ । प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर नै यस्तो निर्णय लिन लागेका हुन् ।
प्रधानमन्त्री दाहालमाथि माधव नेपालको दल नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी दुवै जना मन्त्रीहरुलाई पनि हटाउन ओलीको दबाब छ । अहिले माधव नेपालको दलबाट धनबहादुर बुढा र भानुभक्त जोशी मन्त्रीको जिम्मेवारी छन् । बुढा सहकारी विकासमन्त्री र जोशी सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा छन् ।
पछिल्लो राजनीतिक विकसित घट्नाक्रमअनुसार प्रधानमन्त्री दाहालले नागरिक उन्मुक्ति पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउनेगरि आफूलाई तयार गरेका छन् । मधेश प्रदेशमा जनमतको प्रवेश भए केन्द्रमा पनि उसको सरकारमा सहभागिता सुनिश्चित् हुने बालुवाटार स्रोतको दाबी छ ।
यसको लागि एमाले र माओवादी वा एमालेमध्य एक दलले एउटा मन्त्रालय त्याग गर्नुपर्ने हुन्छ । त्यसको लागि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच पनि मोटामोटी सहमति भएको छ । बुझिए अनुसार भूमिसुधार मन्त्रालय खाली गराएर रन्जिता चौधरीलाई मन्त्री बनाईने छ।