तीन मन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको ओली सरकारले दुई सचिवको गर्यो सरूवा 

शुक्रबार, फागुन २३, २०८१

सरकारले तीन मन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ । फागुन २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले ऊर्जामन्त्री दीपक खड्का, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडी र वनमन्त्री ऐनबहादुर शाही ठकुरीको विदेश भ्रमण स्वीकृत गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय दीपक खड्का जर्मनीको बर्लिन जाँदै छन् । उनी चैत ५ देखि ६ सम्म आयोजना हुने ११औँ 'एडिसन अफ द बर्लिन इनर्जी ट्रान्सस्टेसन डायलग'मा सहभागी हुन जर्मनी जान लागेका हुन् ।

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुडी अमेरिका जाँदै छन् । उनी यही फागुन २६ गतेदेखि चैत ८ गतेसम्म न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघीष महिलाको स्थितिसम्बन्धी आयोगको ६९औँ सम्मेलनमा सहभागी हुन अमेरिका जान लागेका हुन् ।

यसैगरी, वनमन्त्री शाही बेलायत जाँदै छन् ।  लन्डनमा फागुन २९ गते आयोजना हुने मिनिस्ट्रियल राउन्डटेबल इभेन्ट अन ट्याक्लिङ वाटर सेक्युरिटी एक्रोस द क्लाइमेट नेचर डेभलपमेन्ट नेक्स कार्यक्रममा सहभागी हुन उनी बेलायत जान लागेका हुन् ।

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कुलमानलाई मन्त्रिपरिषद्समक्ष तीन दिनभित्र सफाइ पेस गर्न मौका दिने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

"नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड (क) बमोजिम नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट किन नहटाउने ? भनी सोही विनियमावलीको विनियम २३ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष तीन दिनभित्र सफाइ पेस गर्न मौका दिने । सो प्रयोजनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पत्राचार गर्ने," निर्णयमा भनिएको छ ।

बैठकले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल दुईहजार ८०० रुपैयाँ ६९ पैसा न्यूनतम समर्थन मूल्य तोकेको छ । बैठकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको हो ।

बैठकले १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रति क्विन्टल एकहजार २०० का दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य तोकेको छ ।

यस्ता छन् सरकारका निर्णयहरू :

– २०८१ साल चैत्र २६ देखि २७ (तद्नुसार ८ देखि ९ अप्रिल, २०२५) गतेसम्म अमेरिकाको वासिङ्टन डीसीमा आयोजना हुने एन्टी करप्सन ग्लोबल फोरममा सहभागी हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त जयबहादुर चन्दलाई स्वीकृति प्रदान गर्ने । 

– थाइल्यान्डको बैंककमा २०८१ फागुन १९ गते देखि २१ (तद्नुसार ३ देखि ५ मार्च, २०२५) गतेसम्म आयोजना हुने एसिया पयासिफिक रेजिनल प्रिपार्टरी मिटिङ फर द टू एन्ड युनाइडेड नेसन्स फुड सिस्टम समिट स्टकटेकिङ मुमेन्ट (यूएनएफएसएस+४) कार्यकममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य प्रा.डा. आरपी विच्छालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

– सम्माननीय प्रधानमन्त्रीज्यूको मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा श्री अग्नि प्रसाद खरेल, झापालाई नियुक्त गर्ने ।

– सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक संघीय संसद्‌बाट अध्यादेश स्वीकृत भएपछि पेस गर्न स्वीकृति प्रदान गर्ने ।

– आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक संघीय संसद्‌बाट अध्यादेश स्वीकृत भएपछि पेस गर्न स्वीकृति प्रदान गर्ने ।

– आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्ने विधेयक संघीय संसद्‌बाट अध्यादेश स्वीकृत भएपछि पेस गर्न स्वीकृति प्रदान गर्ने । 

– निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक संघीय संसद्‌बाट अध्यादेश स्वीकृत भएपछि पेस गर्न स्वीकृति प्रदान गर्ने । 

– चालु आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रति क्विन्टल रु. २,८००.६९ न्यूनतम समर्थन मूल्य तोक्ने ।

– १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रति क्विन्टल १,२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुत आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने ।

– यही चैत्र ५ देखि ६,२०८१ (तद्नुसार १८–१९ मार्च, २०२५) सम्म जर्मनीको बर्लिनमा आयोजना हुने ११औँ एडिसन अफ द बर्लिन इनर्जी ट्रान्सस्टेसन डायलगमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने ।

– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक श्री कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड (क) बमोजिम नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट किन नहटाउने ? भनी सोही विनियमावलीको विनियम २३ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष तीन दिनभित्र सफाइ पेस गर्न मौका दिने । सो प्रयोजनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पत्राचार गर्ने । 

– नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षक जनक भट्टराईलाई मिति २०८१/११/१८ देखि लागु हुने गरी बढुवा नियुक्त गरी नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने ।

– सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक संघीय संसद्‌बाट अध्यादेश स्वीकृत भएपश्चात् पेस गर्न स्वीकृति प्रदान गर्ने ।

– २०८१ फागुन २६ गतेदेखि चैत्र ८ गतेसम्म न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघी महिलाको स्थितिसम्बन्धी आयोगको ६९औँ सम्मेलनमा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री माननीय नवल किशोर साह सुडीको नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने । 

– मिति २०८१ फागुन २९ (तद्नुसार १३ मार्च, २०२५) मा बेलायतको लन्डनमा आयोजना हुने मिनिस्ट्रियल राउन्डटेबल इभेन्ट अन ट्याक्लिङ वाटर सेक्युरिटी एक्रोस द क्लाइमेट नेचर डेभलपमेन्ट नेक्स कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री माननीय ऐनबहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने ।

– सहसचिव श्री वीरेन्द्रकुमार यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशको प्रमुख सचिव पदमा कायममुकायम मुकरर गर्ने । 

– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (शासकीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य तथा आपूर्ति), महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको विभिन्न देशमा हुने वैदेशिक भ्रमण स्वीकृत गर्ने । 

– नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा मधेस प्रदेशका कायममुकायम प्रमुख सचिव श्री मदन भुजेललाई बढुवा गरी मधेस प्रदेशमा पदस्थापन गर्ने । 

– नेपाल स्वास्थ्य सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा अधिकृत बाह्रौँ तहका डा. विकास देवकोटालाई बढुवा गर्ने ।

– राजपत्रांकित विशिष्ट श्रेणीका सुमनराज अर्याललाई राष्ट्रिय योजना आयोगको सचिवमा र लोकनाथ पौड्याललाई ‍उपराष्ट्रपति कार्यालयमा सरुवा गर्ने । 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्