आफैं रोजगारी सिर्जना गर्न लाग्नु पर्ने अर्ति दिंदै प्रधानमन्त्रीले सुनाए यस्ता कुरा 

शुक्रबार, फागुन २३, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपश्चिम विश्वविद्यालयमा अध्ययन पूरा गरेका विद्यार्थीहरूका अभिभावकको लगानी, सपना, अपेक्षा सबै पूरा भएको बताएका छन्। 

उनले भने, ‘दीक्षित हुने सबै योग्य विद्यार्थीका अभिावकहरूका लागि खुसीको दिन हो। तपाईँहरूको लगानी, सपना, अपेक्षा सबै पूरा भएका छन्। यस अवसरमा तपाईँहरूलाई बधाइ दिन चाहन्छु। तपाईँहरूरुका छोरा छोरीहरुहरू थप ज्ञानी, लगनशील र राष्ट्रभक्ति बनून्।’

उनले हरेक अभिावकहरूले चाहना आफ्ना सन्तानहरूको सफलता रहेको बताउँदै त्यस सफलता हासिल गर्ने सबै विद्यार्थीहरूलाई पनि बधाइ दिए। शुक्रबार भएको तेस्रो दीक्षान्त समारोहमा तीन व्याजका ३ हजार ८ सय ४१ जना विद्यार्थीहरू दीक्षित भए।

प्रधानमन्त्री ओलीले मध्यपश्चिम विश्वविद्यालय कर्णालीको ऐतिहासिक, पुरातात्विक भूमिमा रहेको देशकै महत्त्वपूर्ण विश्वविद्यालय भएको बताए। उनले भने, ‘खस सभ्यताको जननी हो कर्णाली। राजनीतिक सीमानाका महाकाली भए पनि खस सभ्यताका हिसाबले कर्णाली विश्वकै आकर्षणको केन्द्र हो। यहाँ जडिबुटीको भण्डार छ। यो जडिबुटी के मा प्रयोग हुन्छ त्यो अनुसन्धान गर्न बाँकी छ। त्यसैको अध्ययनका लागि पनि यो विश्वविद्यालयको महत्त्व छ। यो विश्वविद्यालयले कर्णालीमा योग्य शैक्षिक जनशक्ति उत्पादनमा ठूलो दायित्व बोकेको छ।’ 

उनले विद्यार्थीहरूले आफू केमा अगाडि बढ्न सक्छु भन्ने लागेको छ त्यसै अनुसार अगाडि बढ्नुपर्ने बताए। उनले भने, ‘हामी बेरोजगार भयौं भनेरमात्र हुँदैन। आफैं रोजगारी सिर्जना गर्न लाग्नुस। विश्वविद्यालयले तपाईँलाई ज्ञान हासिल गर्न सहयोग गरिसक्यो। अब तपाईँहरूले आफूले सिकेको ज्ञानलाई व्यवहारिकरूपमा उतार्न कोसिस गर्नुस्। सरकार तपाईँहरूको साथमा छ। तपाईँहरूको प्रयासमा हामी साथ दिनेछौं।’

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्