एमाले मोरङमा पार्टी अध्यक्ष ओली पत्तासाफ, विद्याले च्यापेका सबैले जिते

शुक्रबार, फागुन २३, २०८१

नेकपा (एमाले) मोरङमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई धक्का लागेको छ। १० औँ जिल्ला अधिवेशनबाट इतर पक्षको प्यानलै विजयी भएसँगै ओली समूहलाई धक्का लागेको हो।

अन्तिम मतपरिणाम अनुसार संस्थापन पक्षलाई पराजित गर्दै अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी संस्थापन पक्षका राजकुमार ओझालाई ३९ मतान्तरले पराजित गरे।

राईले ४ सय ४६ मत प्राप्त गर्दा ओझाले ४ सय ७ प्राप्त गरे। उपाध्यक्षमा सागर थापाले ४ सय २२ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी शान्ति लिम्बू भुजेलले ३ सय ९१ मत प्राप्त गरिन्।

त्यस्तै, सचिवमा सोमराज थापा निर्वाचित भए। थापाले ४ सय ६१ मत प्राप्त गर्दा प्रतिस्पर्धी रविन थापाले ३ सय ६८ मत प्राप्त गरे।

उपसचिवमा सन्तोष वान्तवाले ४ सय ९० मत प्राप्त गर्दै निर्वाचित भए। प्रतिस्पर्धी ईर्जालाल राजवंशीले ३ सय ११ मत मात्रै प्राप्त गरे।

महिला उपसचिवमा उषा झा निर्वाचित भइन्। उनले ४ सय १८ मत प्राप्त गर्दा प्रतिस्पर्धी शिल्पा निराला कार्कीले ४ सय ५ मत पाइन्।

अधिवेशनमा ८ सय ८८ मत खसेको थियो। ९ सय ११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित भएका थिए। एमाले मोरङको अधिवेशन फागुन १७ गतेदेखि विराटनगरमा सुरु भएको थियो।

खासगरी एमाले कोशी प्रदेश कमिटीको निर्वाचनमा पराजय बेहोरिरहेका विनोद ढकालले इतर पक्षको नेतृत्व गरिरहेका छन्। ढकाल समूहकै सबै पदाधिकारी निर्वाचित भएका हुन्।

ढकाल पार्टीको कोशी प्रदेश अधिवेशनमा घनश्याम खतिवडासँग पराजित भएका थिए। खतिवडालाई एमाले अध्यक्ष ओलीको साथ रहेको छ। ढकाल भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन्। भण्डारी झण्डै एक महिनाअघि कोशी प्रदेशका विभिन्न कार्यक्रममा आउँदा उनै ढकालले समन्वयकारी भूमिका निर्वाह गरेका थिए।

गत शनिबार १७ फागुनमा एमाले अध्यक्ष ओलीले अधिवेशनको उद्घाटन गर्ने तय भएको थियो। तर, ओलीले निर्वाचन नै हुने संकेत पाएपछि सहभागी भएनन्। ढकालको समूहले यसअघिदेखि नै निर्वाचनमै जाने संकेत गरेको थियो।

आफूले भनेको नहुनेजस्तो संकेत पाएपछि ओली अधिवेशनको उद्घाटन गर्न गएका थिएनन्। उनले उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई पठाएका थिए।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  २०:१६
प्रतिक्रिया दिनुहोस्