उपेन्द्र यादवलाई फापेन सत्ता, ६४ दिनमै धात धोएर हिँडे घर

सोमबार, वैशाख ३१, २०८१

गत फागुन २७ गते उपप्रधान तथा स्वास्थ्यमन्त्रीको शपथ लिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मन्त्रीको कुर्सीमा पुगेको ६४औं दिनमै पदच्यूत भएका छन् ।

यादवले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष लिखित राजीनामा पेश गरेका छन् । उनीसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा बुझाएका छन् ।

यादवले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको राजीनामा पत्रमा भनिएको छ,‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु । आजसम्म तपाईंको नेतृत्वको सरकारमा रहेर सहकार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।’

यादव नेतृत्वको पार्टी गत साता विभाजन भएसँगै उनको सत्ता यात्रामा संकट आईपरेको थियो । प्रतिनिधि सभामा १२ सीट रहेकोमा ७ सांसदसहित अशोक राईले जसपा गठन गरेपछि यादवले सरकार छाड्नुपर्ने अवस्था आएको हो । पार्टी विभाजन हुँदा उपेन्द्र अमेरिकामा थिए ।

नेपालमा रहँदा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग मिलेर प्रचण्ड सरकार ढाल्ने खेलमा लागेको भन्दै यादवको पार्टी विभाजन भएको हो । यद्यपी यसबारेमा यादवले भने खण्डन गर्दै आएका छन् । आफू वर्तमान सरकारप्रति प्रतिवद्ध रहँदा रहँदै सत्तारुढ दलले नै पार्टी विभाजन गरिदिएको भन्दै उपेन्द्र असन्तुष्ट छन् ।

केन्द्र सरकारबाट बाहिरिएको जसपा नेपालले मधेश प्रदेशको नेतृत्व पनि गुमाउँदैछ । मधेशमा सहभागी एमाले र माओवादीले आइतबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ६ जना मन्त्री र २ राज्यमन्त्रीले राजीनामा बुझाईसकेका छन् । यादव सरकार ढालेर मधेशमा एमाले, माओवादी, जनमत र लोसपा मिलेर सरकार बनाउने सहमति भएको छ ।

उपेन्द्र छोटो समयमै सत्ताबाट च्यूत हुनुको कारण भने एमाले माओवादीले उपेन्द्रको विपक्षीसँगकै साँठगाँठलाई लिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन छाडेर आएमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र उपेन्द्रलाई एक वर्ष प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए । सोही आश्वासनले सरकार ढाल्न उपेन्द्रले गोप्य चाल चलेको राजनीतिक वृत्तमा चर्चा छ । तर, उपेन्द्रको गोप्य चाललाई एमाले-माओवादीले निस्तेज पारिदिएपछि भने सत्ताबाट उपेन्द्रले ६४ दिनमै हात धुनुपरेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्