नेपाल शिक्षक महासंघले एमाले मुख्यालय घेर्यो 

बुधबार, फागुन २८, २०८१

नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनका क्रममा नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा धर्ना दिएको छ ।

सरकारले यसअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकहरूले बुधबार एमाले मुख्यालयमा धर्ना दिएका हुन् । सबैखाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दा अब जारी हुने विद्यालय शिक्षा विधेयकले समेट्नुपर्ने महासंघले जनाएको छ ।

यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दबाब दिने उद्देश्यले विभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना दिइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । यसपटकको आन्दोलन निर्णायक भएको भन्दै चाँडोभन्दा चाडो विद्यालय शिक्षा ऐन अघि बढाउन उनले आग्रह गरे । 

दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने महासंघले जनाएको छ । 

त्यस्तै, चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने महासंघको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्