उपत्यकामा ट्राफिक प्रहरीले जाँचमा कडाइ गर्यो, ९० बढी स्थानमा टोली खटायो 

बिहीबार, फागुन २९, २०८१

फागु मनाउन सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको छ। काठमाडौं उपत्यकामा आज (बिहीबार) बिहानैदेखि फागु मनाउन शुरु भएकोमा फागुलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।

फागु पर्व मनाउने नाममा उच्छृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने प्रवृत्ति नियन्त्रण गर्न जाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा प्रहरीले सवारी रोकेर चालकले मादक पदार्थ सेवन गरे-नगरेको भनी जाँच गरिरहेको छ।

नेपाल प्रहरीले सुव्यवस्थित, सभ्य र सतर्कताका फागु खेल्न आग्रह गरेको छ। साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर फागु नखेल्न पनि आग्रह गरेको छ।

फागुलाई व्यवस्थित बनाउन काठमाडौंका ९० बढी स्थानमा चेकजाँच गर्न टोली खटाएको प्रहरीको भनाइ छ। फागु खेल्ने साथै सार्वजनिक स्थलमा ड्रोनबाट पनि निगरानी गरिरहेको छ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्