होलीमा अराजक हुने पुग नपुग पाँच दर्जन खोरमा जाकिए
होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले ५२ पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको जानकारी दिए।
उनका अनुसार जाँचका क्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुईपाङ्ग्रे २३० वटा र चारपाङ्ग्रे २३ वटा गरी २५३ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ। तीमध्ये मादक पदार्थ सेवन गरेर ड्राइभिङ गर्ने ४९ र लागुपदार्थ सेवन गरेका ८ छन्।
पक्राउ परेकाहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुङ्गो लाग्ने प्रहरीले जनाएको छ। प्रहरीले काठमाडौँबाट मात्रै २१९ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। तीमध्ये चारपाङ्ग्रे १८ तथा दुईपाङ्ग्रे २०१ छन्।
आज साँझसम्म दुईपाङ्ग्रे ११६ तथा चारपाङ्ग्रे १३ गरी १२९ वटा सवारीसाधन छाडिसकिएको छ।