सोसल मिडिया
युनिकोड
नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढेको छ । हालका गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल सकिनै लाग्दा मन्त्रिपरिषद्ले नयाँ गभर्नर चयन गर्न तीनसदस्यीय सिफारिस समिति गठन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा गठित समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य छन् । हालका गभर्नर अधिकारीको कार्यकाल २४ चैतमा सकिँदै छ ।
मन्त्रिपरिषद्ले गठन गरेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । तीन जनामध्ये डेपुटी गभर्नरमध्येबाट एक जनाको नाम सिफारिस गर्नुपर्नेछ । अरु दुई जना भने आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्ति हुनुपर्नेछ ।
समितिले सिफारिस गर्ने तीन जनामध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई पाँच वर्षका लागि गभर्नर नियुक्त गर्नेछ ।
दाबेदार को–को छन् ?
सत्ता गठबन्धनमा रहेका एमाले र कांग्रेसले केही संवैधानिक पदहरू भागवण्डा गरेका कारण गभर्नर कसको भागमा पर्ने भन्ने चासो पनि देखिएको छ । स्रोतहरूका अनुसार एमाले र कांग्रेसबीच गभर्नर कांग्रेसको कोटामा पर्ने अनौपचारिक सहमति भएको छ । निर्वाचन आयोगको प्रमुख एमालेले लिने गरी गभर्नर कांग्रेसको भागमा राखिएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार बीमा प्राधिकरण र राष्ट्र बैंक कांग्रेसको भागमा तथा नेप्से र निर्वाचन आयोगका प्रमुख आयुक्त एमालेको भागमा पर्ने गरी अनौपचारिक सहमति भएको छ । यद्यपि, अर्थमन्त्रीसमेत एमालेको रहेको अवस्थामा गभर्नर एमालेबाटै हुनुपर्ने लबिङ पनि एमालेमा भइरहेको छ ।
एमाले स्रोतका अनुसार पछिल्ला दिनमा कांग्रेसले हरेक राजनीतिक नियुक्तिमा भाग खोज्न थालेका कारण समस्या भएको छ । प्रधानमन्त्री ओलीले पनि दिक्दारी मान्न थालेका छन् । कांग्रेसको भागमा परेको काठमाडौं विश्वविद्यालयको उपकुलपति पनि कांग्रेसकै कारण नियुक्ति प्रक्रियामा समस्या आएको प्रधानमन्त्री ओलीको दाबी छ । त्यसैले, ओली भरसक राष्ट्र बैंकको गभर्नर पनि आफ्नो भागमा पार्ने प्रयासमा छन् ।
राजनीतिक दलहरू दाउपेचको प्रयासमा रहे पनि आकाङ्क्षीहरूले भने दौड सुरु गरिसकेका छन् । आकाङ्क्षीहरूको सूचीमा अहिलेका गभर्नर महाप्रसाद अधिकारी, बैंकका कर्मचारीसहित विभिन्न अर्थशास्त्री र निजी बैंकका सीईओहरू अग्र पङ्क्तिमा देखिएका छन् । अहिलेका गभर्नर महाप्रसाद अधिकारी दोहोरिने सम्भावना छ ।
प्रधानमन्त्री ओलीको विश्वासमा रहनुका साथै आर्थिक सल्लाहकार युवराज खतिवडाको लाइनअनुसार काम गर्ने गभर्नरको रूपमा पनि अधिकारीलाई लिइन्छ । अहिले नेपालको वित्तीय अवस्था संकटमा रहेका कारण राष्ट्र बैंकलाई धेरै चलाउन नहुने भन्दै अधिकारीको पक्षमा पनि तर्क गरिएको छ । अधिकारीसँगै राष्ट्र बैंकका सल्लाहकार चिन्तामणि सिवाकोटी, डेपुटी गभर्नरद्वय निलम ढुंगाना, बमबहादुर मिश्र पनि दाबेदार देखिएका छन् ।
सिवाकोटी पहिला पनि दाबेदार थिए । उनलाई गभर्नर बनाउन नसकिएकै कारण सञ्चालक समितिमा लगिएको थियो । ढुंगाना र मिश्र पनि गभर्नरका लागि राजनीतिक लबिङमा छन् । ढुंगाना र मिश्रले एमालेनिकट नेताहरूमार्फत लबिङ बढाएको स्रोतको दाबी छ । ढुंगानाले राजनीतिक पहुँच विद्यादेवी भण्डारीमार्फत विस्तार गर्ने प्रयास गरेकी छिन् । पहिलो महिला गभर्नर हुने मौका रहेका कारण ढुंगानाले लबिङ निकै बढाएकी छिन् । अनि मिश्र पनि झापाको सम्बन्धकै कारण प्रधानमन्त्री ओलीसम्म पुगिरहेका छन् ।
राष्ट्र बैंकबाट दौडमा रहेका उनीहरूबाहेक अर्थशास्त्री र अन्य व्यक्ति दौडमा छन् । अहिलेका योजना आयोगका उपाध्यक्ष शिवप्रसाद अधिकारी, लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पनि गभर्नर भन्ने सूचीमा रहेको बताइन्छ । त्यसैगरी, निजी बैंकका सीईओ अशोक शेरचन, ज्ञानेन्द्र ढुंगानाले पनि प्रयास गरेको स्रोतको भनाइ छ ।