समाजवादी मोर्चाले शनिवार नागरिक समाज र बुद्धिजीविसँग बुद्धिविलास गर्ने

शुक्रबार, चैत १, २०८१

समाजवादी मोर्चा नेपालले पछिल्लो राजनीतिक परिस्थितिबारे शनिबार नागरिक समाज र बुद्धिजीविसँग छलफल गर्ने भएको छ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आज (शुक्रबार) बिहान बसेको मोर्चाको १२औँ केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो।

यस्तै मोर्चाले शनिबार नै पत्रकारसँग पनि अन्तरक्रिया गर्ने भएको छ। संसदवादी दल र संसद्‌बाहिर रहेका राजनीतिक दल र नेतृत्वसँग राजनीतिक संवाद अघि बढाउने निर्णय पनि मोर्चाले गरेको छ।

‘राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षा एवं समाजवादतर्फको यात्रालाई दृढतापूर्वक अघि बढाउने वातावरण बनाउन बृहत्  राजनीतिक पहल लिने निर्णय गरेको छ’, उनले भने। 

बैठकले यही चैत १५ गतेका लागि तय भएको विरोधसभा र जनप्रदर्शनलाई सफल बनाउने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले जानकारी दिए। 

बैठकमा देशको राजनीतिक परिस्थितिबारे छलफल भएको जानकारी दिँदै उनले राजतन्त्र पक्षधरको प्रदर्शनले मुलुकको राजनीतिक परिस्थिति झन् जटिल बन्दै गएको निष्कर्ष निकालिएको बताए।

उनले प्रतिगामी कदमलाई असफल बनाउने निर्णय बैठकले गरेको जानकारी दिए। 

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत नेता सहभागी भएका थिए। 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्