सोसल मिडिया
युनिकोड
नागढुंगा सुरुङमार्गको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८७ प्रतिशत काम सकिए पनि पूर्ण सञ्चालनमा आउन अझै एक वर्ष लाग्न सक्ने आयोजनाले जनाएको छ ।
सुरूङ निर्माणमा देखिएको अवरोध तथा सुस्त गतिका कारण ४२ महिनामा निर्माण सकिनुपर्ने अझै सकिएको छैन । राजधानी भित्रिन सहज बनाउने नागढुंगा सुरूङ मार्गमा गाडी गुड्न अझै एक वर्ष लाग्ने आयोजनाले जनाएको छ ।
आयोजनाको झन्डै ८७ प्रतिशत काम सकिए पनि नियमित यातायात सञ्चालनको लागि अझै एक वर्ष लाग्नेछ । आयोजनाको काम करिब अन्तिममा पुग्दा पनि सञ्चालन मोडालिटी भने तयार भएको छैन । सुरूङ मार्ग सन् २०२५ को अन्त्यमा ‘सफ्ट ओपनिङ’को तयारी छ ।
सुरूङ मार्गको मुख्य ढलान सकिएको छ । आपत्कालीन उद्दारतर्फको ढलानको काम आधा सकिएको आयोजनाले जनाएको छ । त्यसको तीन महिनापछि मात्रै नियमित रूपमा सवारी सञ्चालन हुने सुरूङ मार्गका सूचना अधिकारी सञ्जय पन्थीले जानकारी दिए ।
“सुरूङ मार्गको काम ८७ प्रतिशत सकिएको छ,” उनले भने, “निर्माण सकिएपछि तीन महिना सफ्ट ओपनिङ हुन्छ । त्यसपछि मात्रै नियमित सञ्चालनमा आउँछौं ।”
यसको लागि अझै एक वर्षबढी समय लाग्ने पन्थीले जनाए । आपतकालीन अवस्थाबाहेक अन्यका लागि अझै एक वर्षको समय लाग्ने उनले जानकारी दिए ।
“समस्या नै पर्यो भने त एम्बुलेन्सहरू छिराउन सकिएला । तर, त्यो पनि गाइडलाइनमा छैन,” उनले भने ।
सफ्ट ओपनिङमा सीमित गाडीहरू मात्रै सञ्चालन हुनेछ । सफ्ट ओपनिङमा टोल शुल्क लिने वा नलिने बारे हालसम्म कुनै निर्णय नभएको उनको भनाइ छ । यस्तै बलम्बुतर्फको फ्लाई ओभरको काम पनि अन्तिम चरणमा पुगेको छ ।
“फ्लाइ ओभरतर्फको काम पनि अन्तिम चरणमा पुगेको छ । केही रेलिङ हाल्न बाँकी छ,” उनले भने,“फ्लाई ओभरतर्फ ९७ प्रतिशतको हाराहारीमा काम सकिएको छ ।”
आयोजनामा स्थानीयको अवरोध तथा कोरोनाले गर्दा पटक–पटक म्याद थप गरिरहेको छ । यसपटक भने समयमै सकिने पन्थी बताउँछन् । सुरूङ मार्गको टेस्टिङका लागि जापानी टोली आउने तयारी रहेको पन्थीले जनाए । गत साता एउटा घरमा क्षति भएको भन्दै अवरोध भएको थियो । कुनै अवरोध नभएमा निर्धारित मितिमा आयोजनाको काम पूरा हुनेछ ।
सुरूङ मार्ग ०७६ कात्तिक ४ बाट निर्माण सुरू भएको थियो । ०८० वैशाखसम्म सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर, कोभिडको बाहना देखाएर म्याद थप भएको थियो । सोहीअनुसार सरकारले पटक–पटक गरेर थप दुई सम्झौता गरेको छ ।
पहिलो सम्झौताअनुसार सुरूङमार्गको कार्य सम्पन्न नभएपछि पहिलो पटक ०८० असार मसान्तसम्म समय थपिएको थियो । सो पछि ०८१ वैशाख १३ सम्म म्याद थपे पनि काम सकिएन । आयोजनासँग अब ०८२ असोजसम्म म्याद छ । आयोजना सुरू गर्दा ४२ महिनामा सक्ने लक्ष्य थियो ।
तर, आयोजना सुरू भएको ६४ महिनासम्म पनि पूरा भएको छैन । आयोजनामा सवारी गुडाउन अझै एक वर्ष लाग्नेछ । सुरूङमार्ग निर्माणपछि सिस्ने खोलाबाट बलम्बु करिब ७ मिनेटमा यात्रा गर्न सकिने आयोजनाको भनाइ छ ।
सिस्ने खोलाबाट नागढुंगा सडक हुँदै बलम्बुसम्म आइपुग्न ३३ मिनेट बढी लाग्ने गरेको छ । सुरूङ मार्ग बनेपछि यसले ७ मिनेटमा आवाजावत गर्न सकिने आयोजनाले जनाएको छ । सुरूङको दुरी दुई हजार ६८८ मिटर रहेको छ । मुख्य सुरूङसँगै आपत्कालीन सुरूङ समेत निर्माण भइरहेको छ ।
आपतकालीन सुरूङको दूरी दुई हजार ५५७ मिटर रहेको आयोजनाले जानकारी दिएको छ । सुरूङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले पाएको थियो । जसको कुल ठेक्का रकम २२ अर्ब रूपैयाँ छ । सुरूङमार्ग निर्माणको लागि जापान सरकारको १६ अर्ब सहुलियतपूर्ण ऋण र सरकारको ६ अर्ब लगानी छ ।