राष्ट्रिय विपद् प्राधिकरणमा भट्टले पाए नियुक्ति, केयूको उपकुलपतिमा वाग्ले

सोमबार, चैत ४, २०८१

सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश भट्टलाई नियुक्त गरेको छ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

कार्यकारी प्रमुख सिफारिसका लागि गठित समितिले भट्टका साथै सुमनकुमार कर्ण र मन्दीप सुवेदीको नाम सिफारिस गरेको थियो।

भट्ट वातावरण तथा जलवायु परिवर्तनका विज्ञ हुन्। उनीसँग त्रिभुवन विश्वविद्यालयका इन्जिनियरिङ क्याम्पसहरूमा करिब २० वर्ष अध्यापन गरेको अनुभव छ।

आजै काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा डा अच्युत वाग्ले नियुक्त भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले वाग्लेलाई नियुक्त गरेका हुन्।

प्रधानमन्त्री कार्यालयबाट भर्खरै नियुक्तिपत्र प्राप्त गरेको डा वाग्लेले पुष्टि गरे। गत माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारीमा थिए।

यसअघि उनी विश्वविद्यालयको रजिस्ट्रार थिए। २०७९ असोज २ गते उनलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले रजिस्ट्रार नियुक्त गरेका थिए।

विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि पूर्वउपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो। समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा अर्जुन कार्की र पूर्वसचिव जर्नादन नेपाल सदस्य थिए।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्