पूर्वराजाको सक्रियतापछि बसेको प्रधानमन्त्रीको पार्टीको बैठकले के-के गर्यो ?

सोमबार, चैत ४, २०८१

नेकपा (एमाले) ले मुलुकलाई अलोकतान्त्रिक दिशामा फर्काउने प्रयास स्वीकार्य हुन नसक्ने बताएको छ । एमाले केन्द्रीय सचिवालयले विशेष प्रस्ताव पारित गर्दै उपलब्धिलाई अस्वीकार गर्ने, एकोहोरो नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने जस्ता गतिविधि स्विकार्य नहुने बताएको हो । 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले विकसित समसामयिक राजनीतिक विषय तथा सरकारका कामका बारेमा जानकारी गराएका थिए । मुलुकको समसामयिक परिस्थिति र विकसित राजनीतिक घटनाक्रमका बारेमा सचिवालयका सदस्यहरूले आ–आफ्नो रायसमेत प्रस्तुत गरेका थिए ।

‘मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन भन्ने कुरा स्पष्ट छ । लोकतन्त्र स्थापनापछिको छोटो समयमै नेपालले महत्वपूर्ण प्रगति हासिल गरेको छ । सशस्त्र द्वन्द्व, लामो सङ्क्रमणकाल र भूकम्प लगायत अनेकौं प्राकृतिक विपत्तिका बीचमा पनि भौतिक पूर्वाधार, सामाजिक क्षेत्र, जनताको जीवनस्तर, अन्तर्राष्ट्रिय सम्बन्ध लगायत क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि महत्वपूर्ण छन् । गर्नु पर्ने कामहरू धेरै बाँकी छन्, तर उपलब्धिलाई अस्वीकार गर्ने, एकोहोरो नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने एवं त्यसैको बहानामा मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य हुन सक्दैन,’– सचिवालय बैठकबाट पारित विशेष प्रस्तावमा भनिएको छ ।

साथै, एमालेले आम जनता र विशेष गरेर युवा पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारको महत्वलाई गम्भीरतासाथ आत्मसात गर्न, निरङ्कुशकालमा अधिकार खोसिँदाको पीडालाई अनुभूत गर्न, साढे दुई शताब्दी हाराहारी लामो राजतन्त्रको एकछत्र शासनकालमा मुलुकको अवस्था कस्तो थियो भन्ने तुलनात्मक अध्ययन गर्न आह्वानसमेत गरेको छ ।

एक्काइसौं शताब्दीमा जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैमा हास्यास्पद, हानीकारक र निरर्थक विषय रहेको एमाले निष्कर्ष छ । एमाले संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गरेको छ ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्