टोखाबाट बरामद गरिएको २५ करोड पैसाको साहु पटके भएको पुष्टी
काठमाडौँको टोखाबाट चैत ४ गते ट्रकमा बरामद भएको २५ करोड विदेशी मुद्राका मालिक नेपालकै विवादित व्यापारी भएको खुलेको छ।
उक्त रकम सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-४ घर भई टोखा नगरपालिका-१०, महादेवटार हाइटमा बस्ने नारायण पौडेलले चीन पठाउन लागेको राजस्व अनुसन्धान विभागले पत्ता लगाएको छ।
विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेका अनुसार, पौडेलले नै उक्त रकम चीन लैजान भन्दै ट्रक चालक कुसाङ लामालाई दिएका थिए।
पौडेल यसअघि पनि पटकपटक पक्राउ परेका व्यक्ति हुन्। नेकपा माओवादी केन्द्रनिकट व्यापारी उनी २०८० असारमा जुवाखालबाट पक्राउ परेका थिए।
२१ वर्षपहिले पनि उनलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो। उनी रक्तचन्दनको तस्करीमा मुछिएका थिए। चीनबाट कपडाको व्यापार गर्दै आएका पौडेल पछिल्लो समय सुन तस्करीमा लागेको विभागको निष्कर्ष छ।
यसअघि पक्राउ पर्दा उनलाई छुटाउन कान्छा भाइ, राजकुमार पौडेलसहितका नेताहरूले दबाब दिएका थिए। यिनै राजकुमार ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादीबाट भोटेकोसी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। त्यतिबेलैदेखि नारायण पनि माओवादी समर्थक बनेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले बताए।
गत स्थानीय चुनाव २०७९ मा पनि राजकुमारले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिए पनि कांग्रेस उम्मेदवारसँग पराजित भएका थिए।
उनका जेठा दाइ ध्रुव पौडेल भने २०५४ सालमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। साइँला भाइ बच्चु पौडेल हिमालयन सीमापार व्यापार संघका निवर्तमान अध्यक्ष हुन्। उनलाई कांग्रेसनिकट भनिए पनि पार्टीको आधिकारिक पदमा भने नरहेको शेर्पाले बताए।
यसअघि ७ किलो सुनसहित यिनै चालकलाई प्रहरीले पक्राउ गरेपछि पनि राजकुमार केही समय सम्पर्कविहीन भएका थिए।
उनलाई पक्राउ गर्न अदालतले अनुमति समेत दिइसकेको छ। राजस्व अनुसन्धान विभागले टोखास्थित निवासमा छापा मारेर केही कागजातहरू समेत नियन्त्रणमा लिइसकेको र पौडेल भने ट्रक चालक पक्राउ परेलगतै फरार भएको विभागले जनाएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत ४ गते राति ट्रकमा युरो र अमेरिकी डलर गरी नेपाली रूपैयाँ २५ करोड १९ लाख २४ हजार ९५० रूपैयाँ बराबर बरामद गरेको थियो।
त्यो रकमसहित भेटिएको ट्रकका चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका १ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका २ बस्ने फुच्चे भन्ने ४३ वर्षका कुसाङ लामा त्यतिबेलै पक्राउ परेका थिए। उनलाई अहिले पनि हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
टोखा नगरपालिका २ झोरमा ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रकको बोनटमाथि फल्सबटम बनाएर लुकाएको अवस्थामा अमेरिकी डलर र युरो बरामद गरेको थियो।
ट्रकमा उक्त रकम लिएर कपडा किन्न चीन जान लागेको कुसाङले बताएका थिए। प्रहरीले भने यो रकम सुन तस्करीको भएको सुरुमै अनुमान गरेको थियो।
उक्त ट्रकमा १०० दरका अमेरिकी डलर ३ हजार ११९ थान, ५० दरका १७९ थान र ५०० दरका युरो ११ थान, २०० दरका ४८० थान, १०० दरका ४ हजार १४८ थान र ५० दरका १७ हजार १७७ थान बरामद गरेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले बताए।
हालको विनियम दरअनुसार, यो रकम २५ करोड १९ लाख २४ हजार रूपैयाँ हुन्छ।