सोसल मिडिया
युनिकोड
चालु आर्थिक वर्ष २०८०/८१ को वैशाखमा घरजग्गा कारोबारबाट चार अर्ब २४ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, चैतको तुलनामा घरजग्गा काराबारबाट प्राप्त हुने राजस्व वैशाखमा २९ करोड ७१ लाख रुपैयाँले बढेको छ ।
गएको चैतमा घरजगा कारोबारबाट तीन अर्ब ९४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । वैशाखमा घरजग्गाको कारोबार बढेसँगै राजस्वमा पनि वृद्धि भएको हो । गत आर्थिक वर्षको वैशाखको राजस्व संकलनलाई हेर्दा यो वर्षको वैशाखमा घरजग्गा कारोबारबाट बढी राजस्व प्राप्त भएको छ ।
गत वर्षको वैशाखमा तीन अर्ब १० करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । गत वर्षको वैशाखको तुलनमा यो वर्षको वैशाखमा एक अर्ब १४ करोड पाँच लाख रुपैयाँ बढी राजस्व संकलन भएको हो ।
विभागका अनुसार, रजिस्ट्रेसन दस्तुरबापत वैशाखमा दुई अर्ब ५६ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकरबापत एक अर्ब ३९ करोड ८३ लाख रुपैयाँ संकलन भएको छ ।
काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर)मा घरजग्गा कारोबारबाट वैशाखमा एक अर्ब ८२ करोड ४५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । ललितपुरको लगनखेलस्थित कार्यालयबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ । उक्त कार्यालयबाट वैशाखमा ४६ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । काठमाडौंको डिल्लीबजारस्थित कार्यालयबाट ३२ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।