देश लुटेर खाने नेताहरूलाई तत्काल सिंहदरबार छोड्न प्रभुले दिए चेतावनी

आइतबार, चैत २४, २०८१

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देश लुटेर खाने र खोक्रो बनाउने नेताहरूलाई तत्काल सिंहदरबार खाली गर्न चेतावनी दिएका छन् । 

आज जनआन्दोलन दिवसको अवसरमा पार्टीले आयोजना गरेको तेस्रो जनआन्दोलनको ऐतिहासिक सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले ‘चोर नेताहरू’ले जतिसक्दो चाँडो सिंहदरबार खाली गर्नुपर्ने बताए । 

लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गर्नेहरूले सिंहदरबार खाली गर्न ढिलाइ गरे जनताले सिंहदरबारभित्र छिरेर कठालोमा समातेर गलहत्त्याउने उनको दाबी छ । 

उनले भने, ‘यी चोर नेताहरूलाई म सोध्न चाहन्छु–के तिमीहरूलाई राजा बनाउनको लागि नेपाली जनताले लडेका थिए ?  तिमीहरूको छोराछोरीलाई विदेशमा मोज मस्ती गरुन् भनेर हामीले आन्दोलन गरेका थियौँ ? के तिमीहरूलाई र तिमीहरूको खानदान, दर खानदानसम्मलाई पुग्ने अकुत सम्पत्तिको मालिक बनाउनको लागि लडेका थियौँ ?’

साहले जनआन्दोलन र जनयुद्धपछि प्राप्त उपलब्धिहरू पनि अहिलेका शासकहरूले बेचेर खाएको गम्भीर आरोप लगाए । उनले भने,  ‘देशलाई बन्धकी राखेर तिमीहरूको स्वार्थपूर्ति गर्न त हामी लडेका थिएनौँ नि, नेपाली युवाहरूलाई विदेशमा मार्न तिमीहरूलाई नेता बनाएका हौँ ? तिमीहरूको आसेपासेलाई मोटाउन हामी युद्ध लगेका थियौँ ? ’

साहले आज देशमा नेताहरूको आसेपासे मालामाल भएको तर जनता बेहाल अवस्थामा रहेको जिकिर गरे । उनले भने, ,‘हामी हेर्न सक्छौँ, लुट र भ्रष्टाचार बढेको छ, जनता लाचार बन्नुपरेको छ । नेताहरूको छोराछोरी विदेशमा मोजमस्ती गरिरहेका छन्, तर गरिबका छोराछोरी परिवार पाल्नको लागि विदेशमा मरिरहेका छन् । देश उजाड छ, जनता निराश छन् । नेताहरू मस्तीमा छन्, जनता सास्ती भोगिरहेका छन् ।’

साहले देशमा अहिले बिना घुस र कमिशन कुनै काम हुन नसक्ने बाध्यता सुनाए । जनताको करबाट बनेको बजेट आज टाउके नेताहरूले निजी सम्पत्तिजस्तो अंशबन्डाझैँ भागबन्डा लगाएर खाइरहेको उनको गम्भीर आरोप छ । 

उनले भने,‘जल बेचे, जमिन बेचे, जंगल बेचे, यी चोर नेताले आज हुँदाहुँदै जनतासमेत बेचिरहेका छन् । कहिल्यै कसैको गुलाम नभएको देशलाई अहिलेका नेताहरूले विदेशीको गुलाम र दलाली गर्दा आज नेपाल र नेपालीहरूको इज्जत घटेको बताए । 

उनले शहीदहरूको रगतको व्यापार भइरहेको पनि टिप्पणी गरे । त्यस्तै साहले आफूहरूले थालेको आन्दोलनको वेगलाई अहिलेका चोर नेताले रोक्न नसक्ने चेतावनी दिए ।

उनले भने, ‘इतिहास साक्षी छ, नदीको प्रवाहलाई कसैले छेक्न सकेको छैन, हावाको बहावलाई कसैले रोक्न सकेको छैन, त्यसैले याद राख–तिमीहरूले हाम्रो आन्दोलनको वेगलाई रोक्न सक्ने छैनौँ । हिजो नेपाली जनताले राणालाई भगाएकै हो, राजालाई हटाएकै हो, अब तिमीहरू भ्रष्ट, दलाल र लुटेराहरूलाई लखेट्ने निश्चित छ ।’

साहले काठमाडौँमा कवाड व्यवसाय र मजदुरहरूमाथि चरम अत्याचार गरेको भन्दै काठमाडौं महानगर र यसको नेतृत्व बालेन्द्र शाहको ज्यादतीले गरिरहेको आरोप पनि लगाए । 

 काठमाडौँजस्तो सङ्घीय राजधानीमा खोला किनारामा बसेका सुकुम्वासीहरूलाई पिउने पानीमा नाकाबन्दी लगाएर राज्यले मानवता विरोधी अपराध गरेको भन्दै आपत्ति जनाए ।

उनले जनतामाथि दुनियाँमा नभएको कर आतङ्क मच्चाइएको भन्दै तत्काल त्यो कर आतङ्क रोक्न पनि माग गरे । नेपालमा बैंकरहरु नै मालिक र ऋणी बनेको भन्दै यो अपराध पनि अब स्वीकार्य नहुने चेतावनी पनि दिए ।

वैदेशिक रोजगारीमा भइरहेको ठगीमा सरकार नै साझेदार बनेको र उल्टै आफ्ना नागरिकलाई लुट्ने काम गरेको साहको गम्भीर आरोप छ ।

जनआन्दोलन दिवसको अवसरमा दलाल दलतन्त्रको लुट एंव भ्रष्टाचार विरुद्ध आजपाद्वारा काठमाडौँमा आयोजित तेस्रो जनआन्दोलनको विरोध प्रदर्शन समेत भएको छ । 

प्रदर्शन भृकुटीमण्डपबाट सुरु भएर भद्रकाली, सहिद गेट, सुनधारा, रत्नपार्क, जमल, घन्टाघर हुँदै पुन भृकुटीमण्डपमै पुगेर सभामा परिणत भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १९:४९
प्रतिक्रिया दिनुहोस्