ओली र देउवाले एकले अर्कालाई गलाउने, तत्काललाई राष्ट्र बैंक नीलमले चलाउने

सोमबार, चैत २५, २०८१

गएको ३६ घण्टादेखि गभर्नरविहीन नेपाल राष्ट्र बैंकको कायमुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर नीलम ढुंगानाले पाएकी छिन्।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन्।

अर्थ मन्त्रालयले वरीयताका हिसाबमा डेपुटी गभर्नर ढुंगानालाई स्वत: कामुको जिम्मेवारी दिएको हो। 

आजै अपराह्न मन्त्रिपरिषदको बैठक बस्ने कार्यतालिका छ। मन्त्रिपरिषदले आज गभर्नर नियुक्त नगर्ने सम्भावाना देखिए पनि राष्ट्र बैंकले कामुको जिम्मेवारी नीलमलाई दिने पत्र अर्थ मन्त्रालयमा पठाएको थियो। तीन बजे बस्ने क्याबिनेटले गभर्नर नियुक्तिको टुंगो नलगाउने संकेत मिलेको हो। 

नेपाल राष्ट्र बैंकको गभर्नरबाट महाप्रसाद अधिकारीले शुक्रबार नै विदा लिइसकेका छन्। उनको ५ वर्षे कार्यकाल २५ गते सकिएको थियो। सत्ताधारी कांग्रेस र एमालेले आफू अनुकुलका व्यक्तिलाई गभर्नर बनाउने ज्यान फालेरै लागेका छन्।  एकले अर्कालाई गलाउने रणनीतिले गर्दा नयाँ साल अघि गभर्नर नियुक्ति हुन नसक्ने उच्च श्रोतको भनाई छ। 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्