सोसल मिडिया
युनिकोड
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)देखि कर्मचारीसम्मका खातामा तलब गएको छ । तीन महिनादेखि तलबविहीन सबैले तलब पाएका छन्। तलब निकासाका लागि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले शुक्रबार तोक लगाएका हुन् ।
काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार रोकिएको तीन महिनाको तलब आज गएको छ । महानगरले १ अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा गरेको मानन्धरले जानकारी दिएका छन् । महागरको २९ सय व्यक्तिलाई ११३ करोड रुपैयाँ भुक्तानी गरेको मानन्धरले जानकारी दिएका छन् ।
महानगरका मेयर बालेनको अघोषित निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं गत पुस ८ गतेदेखि पटक–पटक कार्यालयमा हाजिर हुने कोसिस गरिरहेका थिए । तर, बालेनको निर्देशनमा कार्यालय प्रवेशमा रोक लाग्दै आएको थियो ।
महानगरकी उपमेयर सुनिता डंगोलको ‘समन्वयकारी’ भूमिका निर्वाह गरेपछि प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी फर्किएसँगै रोकिएका काम अघि बढेको हो ।
महानगर वडा नम्बर २८ पुरानो बसपार्कस्थित कित्ता नम्बर १३७३ र क्षेत्रफल २३–५–३–३ रहेको जमिनमा श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले निर्माण गरिरहेको काठमाडौं टावरको तला थप गर्ने अनुमति दिएको आरोपमा गुरागाईं छानबिनमा तानिएका थिए ।
कार्यपालिका बैठकबिनै बालेनकै निर्देशनमा तीनवटा छानबिन समिति बन्यो ।
तर, तीनैवटा समितिले गुरागाईंमाथिको आरोप पुष्टि गर्न सकेन । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई महानगरमा हाजिर गराउन पटक–पटक ताकेता गर्दै आएको थियो ।
तर, मेयर बालेनले भ्रष्टाचारको आरोप लगाउँदै गुरागाईंलाई कुनै पनि हालतमा हाजिर हुन नदिने अडान लिँदै आएका थिए । गत बिहीबार महानगरका कर्मचारी र जनप्रतिनिधिका साथले बालेनको अडानलाई उल्टाइदियो । गुरागाईं कार्यालय हाजिर हुने जर्बजस्त माहोल बन्यो ।
नगरप्रहरीको अवरोध तोड्दै कार्यपालिका सदस्य र कर्मचारीहरूले गुरागाईंलाई प्रमुख प्रशासकीय अधिकृतको कुर्सीका ‘कमब्याक’ गराएका हुन् ।
महानगरमा उत्पन्न प्रमुख प्रशासकीय अधिकृतको विवाद उत्कर्षमा पुग्दा बालेन विदामा थिए । उनी आफ्नो ‘कोर टीम’का सदस्य कुमार व्यञ्जनकार र अर्जुन घिमिरेसहित दोलखाको भिमसेन मन्दिर पुगेका थिए ।
बालेनलाई कर्मचारीहरूले निरन्तर ध्यानाकर्षण गराउँदा पनि सबै दोष केन्द्रीय सरकारलाई देखाउँदै सामाजिक सञ्जालमा अराजक आक्रोश पोख्न मात्रै बालेन व्यस्त रहे । कर्मचारीहरूले बालेनको कार्यशैलीप्रति खुलेर प्रतिकार गरेको यो पहिलो घटना हो ।
बालेनको एकल निर्णयका कारण महानगरका करीब पाँच हजार जनप्रतिनिधि र कर्मचारीले तीन महिना बढीदेखि तलब पाएका थिएनन् ।
जनप्रतिनिधिको तलब निकासा र महानगरको समस्या समाधान गर्न बालेनले सामाजिक सञ्जालमा आक्रोश पोख्नेबाहेक मन्त्रालयमा भेटवार्तालगायत कुनै पहल गरेको देखिएन ।
केन्द्रीय सरकारले गुरागार्ईंलाई हाजिर गराउन निर्देशन दिँदा पनि बालेनले मानेका थिएनन् ।
तर, जुनसुकै हालतमा पनि कार्यालय प्रवेश गराएरै छाड्ने अडानमा कर्मचारीहरू र जनप्रतिनिधि भएको पाएपछि उपमेयर डंगोलले समन्वयकारी र नेतृत्वदायी भूमिका निभाएकी हुन् ।बिहीबार गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन नगरप्रहरी परिचालन गरेर बालेन दोलखा हिँडेका थिए । तलब खातामा आएपछि पनि बालेन भने महानगर पुगेका छैनन्।