सोसल मिडिया
युनिकोड
गर्नु पर्ने भन्दा नगर्नु पर्ने काममा लामो हात गरेको चर्को गुनासो आएपछि गृहमन्त्रालयले कान ठाडो पारेको छ। त्यहि क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका ७ जना वरिष्ठ अध्यागमन अधिकृत (उपसचिव) सहित कुल १३ उपसचिवहरूको मन्त्रालयले सरुवा गरेको छ।
मन्त्रालयले फिर्ता बोलाइएका वरिष्ठ अध्यागमन अधिकृतहरूमा सीता परियार, बाबुलाल रेग्मी, सत्यराज जोशी, तारानाथ पनेरु, माधव प्रसाद ढुंगाना, फणीन्द्र दाहाल र सूर्य प्रसाद उपाध्याय रहेका छन्। परियार कांग्रेस सहमहामन्त्री जीवन परियारकी पत्नी हुन्। उनी सांसद समेत छन्। त्यस्तै सूर्य उपाध्याय मुख्यसचिव एकनारायण अर्यालका नजिकका नातेदार हुन्। मुख्यसचिव अर्याल गृहसचिव छँदा शहरी विकास मन्त्रालय बाट चार महिनामै गृहमन्त्रालय पुगेका उपाध्याय केही दिन अध्यागम बसेर विमानस्थल पुगेका थिए।
विमानस्थल बाट तानिएका रेग्मीलाई जिल्ला प्रशासन कार्यालय पर्साको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिईएको छ। उता, जोशीलाई रामेछापको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ। रामेछापमा उपसचिव नै सिडिओ छन्। त्यहाँ सहसचिव सिडिओको दरबन्दी छ। उपसचिव राजु पौडेल रामेछापको सिडिओ छन्।
पुरानालाई तानेर नयाँ पठाउने विषयमा समेत चर्को चलखेल भने भएकै छ। नयाँ खटाइएका उपसचिवहरूमा अध्यागमन विभागका निर्देशक ईश्वरी दत्त पनेरु, कारागार कार्यालय डिल्लीबजारका निर्देशक पूर्ण बहादुर खत्री, जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य, जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी फणीन्द्र प्रसाद पौडेल, जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने र गृह मन्त्रालयका उपसचिव खेम राज उपाध्याय रहेका छन्। यी मध्ये धेरै उपल्लो तहका कर्मचारी र मन्त्रीका नातेदार छन्। सचिवका भिनाजु सम्मले ठाउँ पाएका छन्।