नेप्सेले ल्याएन आज पारा, कति भयो कारोबार ?

बिहीबार, चैत २८, २०८१

साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से ५.५७ अङ्कले ओरालो लागेको छ । बजार ओरालो लागेसँगै २६७० को विन्दुमा पुगेको छ ।  दिनभर कारोबारका क्रममा नेप्से अधिकतम २६८७ अङ्कसम्म पुगेको थियो । वर्गका कम्पनीहरूको सूचक सेन्सिटिभ इन्डेक्स ०.०४ प्रतिशत घट्यो ।

आज बजार ओराले लागे पनि कारोबार रकम भने बढेको छ ।  अघिल्लो दिन ४ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६३ करोडको बराबरको सेयर कारोबार भएको छ । ११३ कम्पनीको मूल्य बढ्दा १३१ को घट्यो भने एउटाको स्थिर नै रह्यो ।

अधिकांश सेक्टरका सूचक पनि घटेका छन् । सबै सेक्टरको उतारचढाव १ प्रतिशतमुनि नै रह्यो । बैङ्किङ ०.०९, फाइनान्स ०.४९, होटल तथा पर्यटन ०.४१, लगानी ०।२९, जीवन बीमा ०.३२, उत्पादन ०.८७, निर्जीवन बीमा ०.२०, अन्य ०.९० र व्यापार सेक्टर ०.११ प्रतिशत घटे । माइक्रोफाइनान्स ०.३८, हाइड्रोपावर ०.०९ र विकास बैङ्क सेक्टर ०.०३ प्रतिशत बढे ।

दुई कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको हो । नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य प्रतिकित्ता ४०२ रुपैयाँ २० पैसा पुगेको छ भने क्रेस्टको ३३२ रुपैयाँ ७० पैसा छ । यी दुवै कम्पनी बजारमा हालै सूचीकृत भएका हुन् । 

त्यस्तै सिन्धु विकास बैङ्कको ७.९८, विन नेपाल लघुवित्तको ७.२८ प्रतिशत बढ्यो । बोटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा धेरै ४।३७ प्रतिशत घट्यो । हिमालयन पावर पार्टनरको २.७२ प्रतिशत तथा शुभम् पावरको २.४५ प्रतिशत घट्यो ।

राधि विद्युत्, एनआरएन इन्फ्रस्ट्राक्चर, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङस् र ङादी ग्रुप धेरै कारोबार भएका कम्पनीमा क्रमशः अगाडि रहे ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्