सरकारले माग सम्बोधन नगरे शिक्षकले आन्दोलन कडा बनाएर बाटो बदल्ने

शनिबार, चैत ३०, २०८१

आन्दोलनरत शिक्षकले माग पूरा नभएसम्म आफूहरू कार्यक्षेत्रमा नफर्कने बताएका छन् । शनिबार (चैत ३०) माइतीघरमा प्रदर्शनक्रममा सञ्चारकर्मीसित उनीहरूले यस्तो बताएका हुन् । शिक्षा ऐन जारी गर्न माग गर्दै उनीहरू काठमाडौंमा सडक आन्दोलनमा छन् ।

आन्दोलनरत शिक्षकले शनिबार ११औँ दिन पनि सडकमै बसेर प्रदर्शन गरे । नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलन भइरहेको छ । महासंघको अगुवाइमा आन्दोलन र सरकारसँग वार्ता पनि सँगसँगै भइरहेको छ ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय कार्यसमिति सदस्य गंगा ढुंगानाले सरकार र शिक्षक महासंघबीच विगतमा भएका सम्झौताबमोजिम सरकारले ऐन जारी नगरेकाले आन्दोलन उत्रिएको बताइन् । उनले एक लाख शिक्षक सडकमा आएर आन्दोलन गर्दा पनि सरकार शिक्षाप्रति उदासीन बनेको आरोप लगाइन् ।

उनले संसद्को नियमित, विशेष अधिवेशन वा अध्यादेशमार्फत ऐन जारी गर्नुबाहेक अरू विकल्प नरहेकामा जोड दिइन् । शिक्षकको मागमा सरकारले बेवास्ता गरे शिक्षा क्षेत्र दशकौँसम्मका निम्ति ध्वस्त हुन सक्ने उनको भनाइ थियो ।

राष्ट्रिय शिक्षक मञ्च नेपालका राष्ट्रिय अध्यक्ष कुमोदकुमार सिंहले शिक्षक ऐन जारी गर्न मागसहित आन्दोलनमा उत्रिएको ११औँ दिनसम्म पनि सरकार गम्भीर नभएको आरोप लगाए । उनले सरकारले शिक्षकको माग तत्काल सम्बोधन गरेर विद्यालय फर्काउनुपर्ने बताए । आन्दोलन अराजकतातर्फ मोडिए त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ थियो ।

नेपाल शिक्षक महासंघ संखुवासभा जिल्ला अध्यक्ष शेरबहादुर पुरीले पञ्चायती शासनकालमा जारी शिक्षा ऐन हालसम्म विस्थापित नहुनु दुःखद भएको बताए । सरकारले माग सम्बोधन नगरे कडा आन्दोलनमा जाने उनले चेतावनी दिए ।

सरकार र महासंघबीच विगतमा भएको सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माध्यमिक तहकी एक सामाजिक शिक्षकले बताइन् । उनले विद्यार्थी भर्नाको समय भएकाले सरकारले तत्काल शिक्षा ऐन जारी गरेर शिक्षकलाई पठनपाठनको क्षेत्रमा पठाउनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्