घरको छतबाट झरेर ज्यान गुमाएका चतुर्वेदीले भ्रष्ट्राचार गरेको सम्पत्ति गृह मन्त्रालयले खोस्यो

सोमबार, वैशाख १, २०८२

सरकारले वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको चल–अचल सम्पत्ति जफत गरेको छ । सर्वोच्च अदालतको २०६८ भदौ २१ गतेको फैसलाबमोजिम गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले उक्त कारबाही गरेको हो ।

पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले चतुर्वेदीलाई १ करोड ३९ लाख जरिवाना, डेढ वर्ष कैद र सम्पत्ति जफतको फैसला सुनाएको थियो । अदालतको निर्णयअनुसार चतुर्वेदीको बैंक खातामा रहेको नगद, सेयर र जग्गा जफत गरिएको हो ।

नेपाल एसबीआई, नेपाल बैंक, हिमालयन, एभरेष्ट र कृषि विकास बैंकमा रहेका चतुर्वेदी र उनको परिवारका बैंक खाताबाट जम्मा रकम र ब्याजसहित जफत गरिएको छ । साथै, नेपाल मेडिकल कलेज, शिखर पेन्ट्स र ओम हस्पिटलमा रहेको परिवारको सेयरसमेत सरकारको नाममा ल्याइएको छ ।

कोटेश्वरस्थित २ रोपनी ९ आना जग्गासहित थप जग्गा पनि सरकारको नाममा लालपुर्जा बनाईसकिएको विभागले जनाएको छ । चतुर्वेदी २०६८ भदौ २८ मा अदालतमा आत्मसमर्पण गरी ११ महिना ६ दिनपछि जेलमुक्त भएका थिए। २०७८ असोज २१ मा उनी चाबहिलको घरको छात बाट झरेर बितेका थिए। 
 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ०६:५९
प्रतिक्रिया दिनुहोस्