नयाँ वर्ष २०८२ चुनौती र अवसरहरू लिएर आएको प्रचण्डको ठहर

सोमबार, वैशाख १, २०८२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष २०८२ चुनौती र अवसरहरू लिएर आएको बताएका छन्।

नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नयाँ वर्षको अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा विश्वास र प्रतिबद्धता व्यक्त गर्ने सम्पूर्ण नेपाली जनताप्रति हार्दिक आभार प्रकट गरेका छन्। 

‘२०८२ साल नयाँ चुनौती र अवसरहरू लिएर हाम्रो सामु उपस्थित भएको छ। जनताको अधिकारलाई ऐतिहासिक रूपमा सुनिश्चित गरेको हाम्रो संविधानको पूर्ण कार्यान्वयन नहुँदा लोकतान्त्रिक प्रणालीप्रति कतिपयले प्रश्न उठाउन खोज्दैछन्,’ प्रचण्डले भनेका छन्, ‘सरकारले दलाल र विचौलियाहरुको पक्षमा स्वेच्छाचारी निर्णयहरू लिइरहँदा जनआक्रोश बढ्दै गएको छ, जसको फाइदा प्रतिगामी शक्तिहरूले लिन खोजिरहेका छन्। त्यसैले सरकारका जनविरोधी क्रियाकलाप र प्रतिगामी षड्यन्त्रविरुद्ध संयुक्त प्रतिरोध गर्नु आजको आवश्यकता बनेको छ।’

लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र भएको उनले बताएका छन्। ‘नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तन चाहन्छन् भन्ने तथ्य पुनः पुष्टि गर्दै नयाँ संकल्प लिन अग्रसर छन्। यही संकल्प र प्रतिबद्धता नै नयाँ वर्ष २०८२ को साँचो अर्थमा शुभकामना हुनेछ,’ प्रचण्डले भनेका छन्। 
    
गौरवशाली इतिहास बोकेका सार्वभौम नेपालीले न्याय, स्वतन्त्रता र समानताका लागि त्याग, तपस्या र बलिदानका कैयौँ कीर्तिमान कायम गरेका चर्चा गर्दै उनले भविष्य पछाडि फर्केर होइन, अगाडि बढेर मात्र उज्यालो बन्न सक्ने बताएका छन्। 

‘त्यसैले देशको समृद्धि र उज्ज्वल भविष्यका लागि दृढतापूर्वक आफ्ना पाइलाहरु अघि बढाऔँ।’ प्रचण्डले भनेका छन्, ‘आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत रोजगारीको सिर्जना गरौँ। सुशासनका नयाँ मानकहरु स्थापित गरौँ। उन्नत र समृद्ध राष्ट्र निर्माण गर्न एकतावद्ध भएर अघि बढौँ। नयाँ वर्षको अवसरमा यही दृढ संकल्प गर्न आह्वान गर्दै आम जनसमुदायमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु,’ प्रचण्डले भनेका छन्। 
 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ०७:५६
प्रतिक्रिया दिनुहोस्