शिक्षक आन्दोलनको आज १४औँ दिन, माग पूरा नभई विद्यालय नफर्कने अडान

मंगलबार, वैशाख २, २०८२

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक काठमाडौंमा सडक आन्दोलनमा छन् । नेपाल शिक्षक महासंघले घोषणा गरेको आमशैक्षिक हडतालअनुरूप उनीहरू माग पूरा नभई विद्यालय नफर्कने अडानमा छन् ।

शिक्षकको आन्दोलन आज (वैशाख २) १४औँ दिन पनि जारी रहने भएको छ । मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म प्रदर्शन गरिने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

काठमाडौंको माइतीघरमा भेला भएर उनीहरू नयाँ बानेश्वर जानेछन् । बानेश्वरमा विरोधसभा गरिने उनले बताए ।

उनले शिक्षकलाई महासंघबाट निषेध गरिएका काममा संलग्न नहुन आग्रह गरेका छन् । “आन्दोलनमा आउन बाँकी साथी आन्दोलनमा अनिवार्य जोडिनुहोला । महासंघबाट निषेध गरिएका काममा संलग्न नहुनु होला,” मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “जिल्ला जिल्लामा निरीक्षण अनुगमनमा गोप्य रूपमा साथीहरू खटिनुभएको छ ।”

आन्दोलनमा सबै शिक्षक सहभागी भए/नभएको गोप्य रूपमा अनुगमन गरिएको उनको भनाइ छ ।

आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताएका छन् । उपलब्धिमा सबै शिक्षकको बराबरी हिस्सेदारी हुने उनले उल्लेख गरेका छन् ।

“हामीले मागेको निकास ननिस्केसम्म आन्दोलनमा रहिरहन्छौँ । यो आन्दोलन सबैको हो । उपलब्धिमा पनि सबैको बराबरी हिस्सेदारी हुने हो,” सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “त्यसैले सहभागिता तथा योगदानमा पनि बराबरी हिस्सेदारी आवश्यक छ ।”

यही वैशाख ११ गतेदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा केन्द्राध्यक्ष एवं निरीक्षकलगायत कुनै काममा संलग्न नहुन महासंघले सबै प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई आग्रह गरेको छ ।

उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै काममा संलग्न नहुन शिक्षक र कर्मचारीमा महासंघले अपिल गरेको छ ।

गएको चैत २० गतेदेखि शिक्षक काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । महासंघले चैत २५ देखि आमशैक्षिक हडताल घोषणा गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्