सचिव पड्काउन कसले कसको समात्यो दौराको फेर ? कहाँका सचिव हुँदैछन् हेरफेर ?

बुधबार, वैशाख ३, २०८२

नेपाल सरकारको विशिष्ट श्रेणी सचिवको एक पद रिक्त भएको छ। राज्यका विभिन्न निकायमा गरि ७० जना विशिष्ट श्रेणी सचिव पदमा कामकाजमा रहेका भएपनि मंगलबारबाट एक जना सेवानिवृत्त भएका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल सचिवको पाँच वर्षे कार्यकाल सकेर घर गएका हुन्। २०७७ वैशाख २ गते प्रशासन सेवाको विशिष्ट श्रेणी सचिवमा बढुवा भएका पोखरेल मंगलबारबाट सेवानिवृत्त भएका हुन् । उद्योग, अर्थ जस्ता मन्त्रालयको सचिवको भूमिकामा रहेर काम गरेका पोखरेल अन्तिममा भूमिबाट अवकाशमा गएका हुन्। पोखरेलको ठाउँमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहसचिव चन्द्रकला पौडेल सचिवमा बढुवा हुने लाइनमा छिन्।

यहीँ वैशाख महिनामा पोखरेलसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डे सेवानिवृत्त हुँदैछन्। 

सिंह वैशाख २५ र पाण्डे वैशाख ३० गते ५८ वर्षे उमेर हदका कारण घर जान लागेका हुन्। सिंहको ठाउँमा अर्थ मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल र पाण्डेको ठाउँमा वन तथा वातावरण मन्त्रालयका सहसचिव भूपाल बराल बढुवा हुने लाइनमा बसेका छन्। सिंह र पाण्डेले पूरा अवधि सचिव चलाउन नपाएपनि पौडेल र बराल ५ वर्ष सचिव चलाउनेमा पर्छन्।

जल तथा ऊर्जा आयोगका सचिव मधुप्रसाद भेटुवाल जेठ ६ गते सेवानिवृत्त हुँदैछन्। दिननाथ मिश्र, चिरञ्जीवी चटौत, जगदिश कर्मचार्य सचिव बढुवाको लाइनमा देखिन्छन्।

गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्ट जेठ २४ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। उनको ठाउँमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरे बढुवाको लाइनमा छन्।

कानुन सचिव उदयराज सापकोटा जेठ २८ र संसद् सेवाका सचिव सुदर्शन खड्का जेठ ३० गते अनिवार्य अवकाशमा जाँदैछन्। सापकोटाको ठाउँमा निर्मला अधिकारी भट्टराई र खड्काका ठाउँमा सुरजकुमार दुरा सचिव बढुवा हुने लाइनमा छन्।

सचिव रिक्त भएपछी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा जान खोज्ने सचिवले सक्रियता बढाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चूडामणि पौडेल भूमि सचिव बन्न अपहत्ते गरेर लागेका छन्।  मुख्यसचिव एकनारायण अर्यालको परिक्रमा गर्दै आएका उनी उनै अर्यालको दाहिना बन्न जोडबल गरिरहेकै छन्। त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अर्का सचिव राजकुमार श्रेष्ठ पनि भूमि सचिव बन्न खुट्टा उचाल्नेमै पर्छन। 

उता, कमरेडी साईनो लगाएर बाबुराम अधिकारी भूमि सचिव बन्न मरिहत्ते गरेर लागेका छन्। लुम्बिनी प्रदेशका प्रमुख सचिव अधिकारीले एमाले महासचिव शंकर पोखरेलको दौराको फेर समातेका छन्। भूमि मन्त्री बलराम अधिकारी पनि एमालेकै हुनु र थर पनि मिल्नु उनले अभयदान पाउन सक्ने रयासन हुने अर्का एक सचिवको टिप्पणी छ। अब बस्ने क्याबिनेटले भूमि सहित आधा दर्जन सचिव चलाउने श्रोतको दाबी छ। वाणिज्य, गृह, सञ्चारलगायतका मन्त्रालयका सचिव पनि फेर्ने तयारी भइरहेको चर्चा छ। त्यस्तै खेलकुद र शिक्षा मन्त्रालयका सचिव पनि यताउता हुनसक्ने सम्भावना छ। 
 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्