प्रधानमन्त्रीले रविमाथि छानबिन समिति बनाउन दिए वचन

मंगलबार, जेठ १, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउने प्रतिबद्धता जनाएको नेपाली कांग्रेसले दाबी गरेको छ।

मंगलबार प्रतिनिधि सभाको बैठक अवरोधपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले संसदीय छानबिन समिति बनाउने बताएको जानकारी दिएका हुन्।

उनले नेपाली कांग्रेससँग प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेको र आफूले संसदीय छानबिन समिति बनाउन कोशिस गर्ने र समिति बनाउने काममा लाग्ने प्रतिबद्धता जनाएको बताए।

उनले भने, ‘प्रधानमन्त्रीजीले नीति तथा कार्यक्रम राष्ट्रपतिजीलाई सम्बोधन गर्न दिनुस्, मैले यहाँ समिति बनाउने कोशिस गर्दछु भन्ने प्रतिबद्धता गर्नुभएको हो। समिति बनाउने काममा लाग्छु भन्ने प्रतिबद्धता गर्नुभएको हो। जबसम्म संसदीय छानबिन समिति बन्दैन, हामी सरकारी काममा प्रवेश गर्दैनौँ।’

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २१:५३
प्रतिक्रिया दिनुहोस्