सोसल मिडिया
युनिकोड
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट गभर्नर नियुक्त हुनुअगावै उनीविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
भट्टलाई गभर्नर नियुक्त गर्न खोजिएको भन्दै सर्वोच्चमा रिट परेको हो।
शुक्रबार अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले गभर्नरका लागि भट्टको योग्यता नपुगेको दाबी गर्दै रिट दायर गरेका हुन्। रिटमाथि सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ।
रिटमा मन्त्रिपरिषद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय र भट्टलाई विपक्षी बनाइएको छ।
रिटमा विपक्ष सिफारिस समितिलाई अयोग्य व्यक्तिहरू सिफारिस गर्ने लगायत अन्य कुनै काम नगर्न नगराउन आदेशको माग गरिएको छ।
गभर्नर बन्ने पक्का भएपछि भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छन्। यद्यपि राष्ट्र बैंकका कार्यवाहक गभर्नर निलम ढुंगानाले उनको राजीनामा स्वीकृत गरेकी छैनन्।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टलाई राष्ट्र बैंकको १८ औँ गभर्नर नियुक्त गर्ने सहमति भएको बताइएको छ। सत्ता गठबन्धनका प्रमुख दुई दलका शीर्ष नेताबीच गभर्नर नियुक्तिका विषयमा सहमति जुटेपछि भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका हुन्।
सरकारले गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरे पनि सत्तागठबन्धनका घटकहरूबीच सहमति नहुँदा सिफारिस हुन सकेको छैन।
तर, अब भट्टको नियुक्ति लगभग निश्चितजस्तै भएपछि सिफारिस समितिले उनको नाम सिफारिस गर्ने सम्भावना बढेको छ।
नेपाल राष्ट्र बैंक ऐनअनुसार सिफारिस हुने तीन जनामध्ये कम्तीमा एक जना राष्ट्र बैंकको डपुटी गभर्नर हुनैपर्छ।
सरकारले गत साता राष्ट्र बैंकका वरिष्ठतम डेपुटी गभर्नर डा.नीलम ढुंगानालाई कार्यवाहक गभर्नर नियुक्त गरेको थियो। नयाँ गभर्नर नियुक्त नभएसम्म उनी कार्यवाहक गभर्नरका रूपमा रहनेछिन्।
नयाँ गभर्नरको सिफारिसका लागि सहमति जुटेको भनिएका भट्ट बैंक तथा वित्तीय संस्था नियमन विभाग, बैंक सुपरीवेक्षण विभाग, भुक्तानी प्रणाली विभाग र सार्वजनिक ऋण व्यवस्थापन विभागमा रहेर काम गरिसकेका छन्।
त्यस्तै उनले प्रकाशशरण महत अर्थमन्त्री छँदा अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार र राजस्व सल्लाहकार बोर्ड सदस्यका रूपमा काम गरेका थिए। भट्टले चार वर्षभन्दा बढी समय बैंकको प्रवक्ताका रूपमा पनि काम गरेका छन्।
हाल उनी कर्जा सूचना केन्द्र लिमिटेडका अध्यक्ष पनि छन्। भट्ट पूँजी बजार नियामक, नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य पनि थिए।