सामान्य प्रशासनमन्त्री गुप्ता किन हान्निए अमेरिका ?

शुक्रबार, वैशाख ५, २०८२

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता अमेरिका प्रस्थान गरेका हुन्।

संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजना हुने आदिवासी जनजातीहरूका मुद्दाहरूसम्बन्धी संयुक्त राष्ट्रसंघीय स्थायी मञ्चको २४औं सत्र ‘ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेशन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यू (यूएन–पीएफआईआई)’ मा सहभागी हुन उनी आज शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

उनले यही वैशाख ८ देखि १९ अर्थात् अप्रिल २१ देखि मे २ तारिखसम्म आयोजना हुने सो कार्यक्रममा सहभागिता जनाउँछन्। उनी वैशाख १९ गते स्वदेश फर्किने कार्यतालिका छ।

यूएन–पीएफआईआई विश्वभरका आदिवासी जनजातीहरूको अधिकार र सरोकारहरूलाई सम्बोधन गर्ने संयुक्त राष्ट्र संघभित्रको एक शक्तिशाली निकाय हो। यसले आदिवासी जनजातीसँग सम्बन्धित मुद्दाहरूका लागि संयुक्त राष्ट्र संघको प्रणालीभित्र समन्वयकारी निकायको रुपमा काम गर्दै आएको छ।

यस्तै, संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद् (ईसीओएसओसी) को सल्लाहकारको रूपमा पनि यो निकायले काम गर्छ। ‘ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेशन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यू’मा आर्थिक तथा सामाजिक विकास, संस्कृति र वातावरण संरक्षण तथा शिक्षा, स्वास्थ्य र मानवअधिकारसँग सम्बन्धित मुद्दाहरूका विषयमा व्यापक छलफल हुने बताइएको छ।

साथै, संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू र संयुक्त राष्ट्र संघको प्रणालीभित्र आदिवासी जनताको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र कार्यान्वयन गर्ने विषयमा राम्रो अभ्यासहरूको पहिचान र चुनौतीहरूको सम्बोधन गर्ने प्रयत्न यो फोरमले गर्नेछ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  २१:४३
प्रतिक्रिया दिनुहोस्