प्रधानमन्त्री ओली जंगिएपछि शिक्षा मन्त्रीको स्वास्थ्य बिग्रियो, यसकारण दिईन् राजीनामा

सोमबार, वैशाख ८, २०८२

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी महासंघको आन्दोलनमा सकारात्मक शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिनुको कारण आफूले बुझ्न नसकेको बताउँछन् । मन्त्री भट्टराईले स्वास्थको कारण देखाएर राजीनामा दिएकी हुन्। उनको स्वास्थ्य भन्दा पनि प्रधानमन्त्रीको अडानले राजीनामा गराएको बुझिएको छ। 

अध्यक्ष सुवेदीले अनौपचारिक तहमा आन्दोलनका माग सम्बोधन गर्न पर्याप्त मेहनत गरेकी मन्त्री भट्टराई एकाएक राजीनामाको खबर आएको उनले बताए । 

“हाम्रो आन्दोलनप्रति मन्त्रीज्यू सकारात्मक हुनुहुन्थ्यो,” एकाएक राजीनामाको खबर आयो । मैले राजीनामाको कारण बुझ्न सकेको छैन,” उनले भने ।

मन्त्री भट्टराईसँग आइतबार पनि लामै वार्ता भएको अध्यक्ष सुवेदीले जानकारी दिए । लामो छलफल हुँदा समेत मन्त्री भट्टराईले राजीनामाको कुनै संकेत नगरेको उनले बताए । 

“हिजो हाम्रो लामै वार्ता भएको थियो । राजीनामाको कुनै संकेत गर्नु भएको थिएन,” सुवेदीले भने, “समाचार देखेर हामी छक्क परेका छौं ।”

मन्त्री भट्टराईले शिक्षकका पक्षमा अनौपचारिक/औपचारिक वार्तामार्फत् सातबुँदे सहमतिको खाका समेत तयार पारेको बताएकी थिइन् । त्यसको स्वामित्व महासंघले नलिइदिएकोमा भने उनको गुनासो थियो ।

महासंघका अध्यक्ष सुवेदीले पनि मन्त्री भट्टराईकै अगुवाईमा सहमतिका सामान्य खाका बनेको स्वीकार गरेका छन् ।  तर, त्यसको कार्यान्वयनको सुनिश्चितताका लागि प्रधानमन्त्रीसँग कुरा गर्नु आवश्यक ठानेको उनले बताए । 

“शिक्षा मन्त्रालयले तयार पारेको खाकामा अर्थको सहमति हुनुपर्‍यो आर्थिक विषयमा नसुल्झी त सहमति कार्यान्वयन हुँदैन,” अध्यक्ष सुवेदीले भने, “त्यसकारण अर्थको सहमति पनि हुन्छ हुँदैन हेर्‍यौं । प्रधानमन्त्रीबाट आउने आश्वासन पनि कुर्‍यौं ।” 

तर, प्रधानमन्त्री भने शिक्षक आन्दोलनलाई निर्देशनको भाषा प्रयोग गरिरहेका छन् । 

उनले शिक्षकले आन्दोलन नगरे पनि शिक्षा ऐन आउने भन्दै आफ्नो कार्यक्षेत्रमा फर्कन निर्देशन दिएका छन् ।  शुक्रबार नै वार्ता गरिसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार वार्ताअघि शिक्षकका भनाइलाई लिएर कडा टिप्पणी गरे । 

“औपचारिक वार्तै गर्नु हुन्न भन्ने अनौठो सुनेको छु आन्दोलनमा । वार्ता नगर्ने के भन्या त्यो ?,” प्रश्न गर्दै प्रधानमन्त्रीले भनेका छन्, “वार्तामा आउनुुस्, कुरा गर्नुस् । सम्भव कुरा सरकारले गर्दिन्छ । फर्केर आ–आफ्ना काममा जानुुस् ।”

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । 

गत माघ १७ मा पोखरा पुगेर शिक्षा ऐन संसदबाट पारित गर्न नसके राजीनामा गर्छु भनेकी मन्त्री भट्टराईले शिक्षक आन्दोलन उत्कर्षमा पुगेका बेला राजीनामा दिएकी हुन् । 

नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद् बैठकमा भट्टराईले समुदायको हितमा काम गर्न नसक्ने अवस्था आए पदमा बसिरहन आवश्यक नरहेको बताएकी थिइन् । 

“विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छाड्छु । विधेयक ल्याउने भनेर बसेको हो,” भट्टराईले भनेकी थिइन्, “सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ ।”

उनी राजनीतिमा प्रवेश गर्नुअघि स्थायी प्राध्यापक थिइन् । उनीभन्दा अघि बोलेका शिक्षक संगठनका नेताहरुले  विद्यालय शिक्षा ऐन जारी गर्न नसकेको, शिक्षक र विद्यालयको समस्या समाधान गर्न नसकेको लगायत आरोप लगाएपछि भावुक हुँदै उनले जवाफ फर्काएकी थिइन् । 

जवाफमा उनले भनेकी थिइन्, “म पदमा बसिरहँदा कुनै पनि कुरा पाउँछु भनेर बसेको होइन । कमाउँछु भनेर बसेको पनि होइन । समुदायको हितमा काम गर्न सकिनँ, अब काम गर्न सकिँदैन भन्ने लागेको क्षण पद छोड्न तयार छु ।”

शिक्षक आन्दोलनसँग नजिक रहेकी भट्टराईले केही दिनअघि एक टेलिभिजनसँगको अन्तर्वार्तामा पनि शिक्षकका आन्दोलनमा आफू जान नमिल्ने भन्दै समाधान दिन लागि तयार रहेको बताएकी थिइन् । 

तर, प्रधानमन्त्री र शिक्षक आन्दोलनको चेपुवामा परेपछि भट्टराई राजीनामा दिएर बाहिरिएकी हुन् ।  तर, शिक्षकहरुलाई वार्तामा बोलाएर गत शुक्रबार साँझ प्रधानमन्त्री थप हाबी भए । 

उनले आन्दोलन आजको भोलि रोक्ने वातावरण नबन्नेबारे आफू जानकार रहेको भन्दै आन्दोलनलाई विस्तारै रोक्न र पढाइमा फर्कन निर्देशनात्मक भाषा प्रयोग गरेका थिए ।

शिक्षक महासंघका प्रतिनिधिले प्रधानमन्त्रीलाई नरम भाषामा सम्झाएका थिए । 

“प्रधानमन्त्रीज्यूले तपाईंले आन्दोलन नगरे पनि विद्यालय शिक्षा ऐन जारी हुन्छ तपाईहरु विद्यालय फर्कनुस् भन्दै निर्देशनकै भाषा प्रयोग गर्नुभएको थियो,” वार्तामा सहभागीमध्येका एक प्रतिनिधिले भने, “हामीले ऐन जारी नभएका कारण आन्दोलनमा आउन बाध्य भयौँ । तपाईंहरु ऐन जारी गरिदिनुस् हामी जारी भएपछि आन्दोलन रोक्छौँ भनेका छौं ।”

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  २०:३३
प्रतिक्रिया दिनुहोस्