प्रधानन्यायाधीशको विदाइका लागि सर्वोच्चका कर्मचारी विमानस्थल पुग्दा नपुग्दै भ्रमण रद्द

बिहीबार, वैशाख ११, २०८२

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको विदेश भ्रमण अन्तिम समयमा रद्द भएको छ । टर्कीका प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणमा आज बिहान साढे १० बजे स्तानबुल उड्ने तयारीमा रहेका प्रधानन्यायाधीश राउतको भ्रमण अन्तिम समयमा रद्द भएको हो ।

उनका साथमा सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल पनि जाने कार्यक्रम थियो । प्रधानन्यायाधीशको विदाइका लागि सर्वोच्चका अधिकारीहरू विमानस्थल जाने तयारी गरिरहेका थिए ।

तर, एकाएक भ्रमण कार्यक्रम नै रद्द भएको सूचना उनीहरूले पाएका थिए । स्राेतका अनुसार बुधवार टर्कीमा गएको ६.२ म्याग्निच्युडको भूकम्पका कारण प्रधानन्यायाधीश राउतको भ्रमण अन्तिम समयमा रद्द भएको हाे ।

उनको विदेश भ्रमणकै कारण ५२ जना संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी विवाद मुद्दाको सुनुवाइ पछि धकेलिएको थियो । लगातार सुनुवाइमा राखिएको पेसी प्रधानन्यायाधीशको आसन्न विदेश भ्रमणकै कारण ब्रेक गर्दै वैशाख २८ गतेका लागि पेसी तोकेको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १२:१५
प्रतिक्रिया दिनुहोस्