आन्दोलनरत शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सरकारलाई अदालतले दियो आदेश

बिहीबार, वैशाख ११, २०८२

सर्वोच्च अदालतले २३ दिनदेखि आन्दोलनरत शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता श्रवणकुमार चौधरीसहितको रिटमा अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासले बिहीबार प्रारम्भिक सुनवाइपछि सर्वोच्चले सरकारका नाममा चारबुँदे निर्देशन जारी गरेको हो ।

चारबुँदे निर्देशनमा सरकारलाई तीन दिनभित्र भएको प्रगतिको विवरण चौथो दिन सर्वोच्चमा पेस गर्न पनि आदेश जारी भएको छ । अदालतले माध्यमिक शिक्षा (एसईई)को बोर्डको परीक्षाफल समयमै प्रकाशन हुने व्यवस्था मिलाउन र कक्षा १२ को परीक्षा मिति नसार्न आदेश गरेको छ। सर्वोच्चले आजका बालबालिका भोलिका कर्णधार भन्दै वर्तमानमा गुणस्तरीय शिक्षा प्रदान गर्न सके मात्रै देश र समाजलाई डोर्‍याउन सक्ने जनशक्ति उत्पादन हुने बताएको छ। 

यस्तो छ चारबुँदे निर्देशन

१. आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू, देशभरका बालबालिकालाई नियमत रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्न नगराउनू ।

२. तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) बोर्डको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्थाको सृजना हुन नदिनू ।

३. शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौँ विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिँदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने सार्न नलगाउने ।

४. उल्लिखित आदेश कार्यान्वयनको प्रगतिका सम्बन्धमा यो आदेश प्राप्त भएको मितिले चौथो दिन प्रत्यर्थी शिक्षा मन्त्रालयले यस अदालतमा प्रतिवेदन पेस गर्नू र मुद्दा महाशाखा प्रमुखले उक्त प्रतिवेदनलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २४ (२) (ख) बमोजिम इजलाससमक्ष पेस गर्नू ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  २१:४२
प्रतिक्रिया दिनुहोस्