पासपोर्ट बनाउनबाहेक कतै काम नलाग्ने ३० लाखभन्दा बढी राष्ट्रिय परिचयपत्र छापियो 

शुक्रबार, वैशाख १४, २०८१

सरकारले ३० लाखभन्दा बढी राष्ट्रिय परिचयपत्र छापेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार चैत मसान्तसम्म ३० लाख १९ हजार ११४ कार्ड प्रिन्ट भएको हो ।

सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउने भनेर सरकारले राष्ट्रिय परिचयपत्र छाप्ने काम अघि बढाएको थियो । तर, हालसम्म परिचयपत्र बनाएर राख्ने र पासपोर्ट बनाउनबाहेक अन्य प्रयोजनमा प्रयोग भएको पाइँदैन । 

कति कार्ड बाँडिए
विभागका अनुसार सरकारसँग छाप्नका लागि एक करोड २१ लाख १७ हजार कार्ड उपलब्ध भएको थियो । तीमध्ये ३० लाख १९ हजार ११४ कार्ड नागरिकको विवरणसहित छापिएको हो ।

छापिएकामध्ये २१ लाख ७३ हजार ५०३ राष्ट्रिय परिचयपत्र कार्ड वितरणका लागि सम्पूर्ण जिल्ला प्रशासन कार्यालयमा पठाइएको विभागले जनाएको छ । चैत मसान्तसम्म देशभर चार लाख २२ हजार ९२१ वटा परिचयपत्र कार्ड वितरण भइसकेको छ ।

डेढ करोडको विवरण संकलन
विभागका अनुसार परिचयपत्र बनाउन एक करोड ४३ लाख ८५ हजार नागरिकको विवरण संलकन भएको छ । विभागले ६६ जिल्लामा नागरिकको विवरण संकलन गर्ने अभियान सम्पन्न भइसकेको जनाएको छ । हाल सात जिल्लामा अभियान जारी छ । 

मुस्ताङमा कम जनसंख्या भएकाले स्थायी दर्ता केन्द्रबाट विवरण संकलन भइरहेको र डोल्पा, मुगु र हुम्लामा अभियान सञ्चालन हुन बाँकी छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०६:५४
प्रतिक्रिया दिनुहोस्