एमाले सर्लाही अध्यक्षमा पुनः साह

बिहीबार, जेठ ३, २०८१

नेकपा(एमाले) सर्लाहीको अध्यक्षमा पुनः राजनारायण साह विजयी भएका छन्। बिहीबार सम्पन्न मतगणनाअनुसार ९औँ जिल्ला अधिवेशनबाट निवर्तमान अध्यक्ष साहको प्यानलै विजयी भएको हो।

निर्वाचन कमिटीले सार्वजनिक गरेको मत परिणामअनुसार १२ मतान्तरले गणेशप्रसाद प्रसाईंलाई पछि पार्दै साह दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन्। साहले कुल २८० मत प्राप्त गरेका छन्।

निकटतम प्रतिस्पर्धी प्रसाईंले २६८ मत प्राप्त गर्दा अर्का उम्मेदवार जयप्रकाश यादवले २० मतमात्र प्राप्त गरे। प्रसाईं हरिवन नगरपालिकाका निवर्तमान मेयर हुन्।

सर्वसम्मतिमा जिल्ला कमिटी गठनको भरपुर प्रयास गर्दा पनि सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियाबाट अधिवेशन सम्पन्न गरिएको हो। साह र प्रसाईं प्यानल तथा यादव स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका थिए।

जिल्ला कमिटीको उपाध्यक्षमा २६४ मतसहित विदुरकुमार प्याकुरेल निर्वाचित हुँदा उनका प्रतिस्पर्धी पार्वती विश्वकर्माले १७१ मत प्राप्त गरिन्। सचिवमा १७७ मतसहित डिल्लीप्रसाद अधिकारी विजयी हुँदा निकटतम प्रतिस्पर्धी बलराम पोखरेलले १३९ मत पाए।

सहसचिव (खुला)मा २१७ मतसहित बलराम एस्माली मगर र सहसचिव (महिला)मा विभा नेपाल २६३ मतसहित निर्वाचित भएकी छिन्।

यसैगरी, लेखा समिति अध्यक्षमा १६३ मतसहित रमेशप्रसाद चौलागाईं, सचिवमा २५२ मतसहित रेणुका पौडेल, खुला सदस्यमा २५२ मतसहित खेमबहादुर भण्डारी निर्वाचित भएकाे निर्वाचन समितिले जनाएको छ।

अन्य सदस्य पदका उम्मेदवारको मतगणना भने भोलि शुक्रबारबाट सुरु गरिने निर्वाचन कमिटी संयोजक रमेश न्यौपानेले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्