के हो छन्द ? यस्ता छन् छन्द र छन्द अन्तर्गतका विविध वृत्तहरू

आमोदवर्धन कौण्डिन्न्यायन
शुक्रबार, वैशाख १४, २०८१

गलाको स्वरको परिमाण विशेषलाई छन्द भन्दछन्। कात्यायनका ऋक्सर्वानुक्रमणी भन्ने ग्रन्थमा छन्दको लक्षण यसरी बताइएको छ— यदक्षरपरिमाणं तच्छन्दः (परिभाषा २।६)। जुन तत्त्वले पापकर्मबाट बचाएर मानिसलाई रक्षा गर्दछ त्यो छन्द हो भनेर छन्दश्शब्दको निर्वचन शास्त्रमा गरिएको देखिन्छ—

छादयन्ति ह वा एनं छन्दांसि पापात् कर्मणो यस्यांकस्यां चिद् दिशि कामयते य एवमेतच् छन्दसां छन्दस्त्वं वेद (ऐतरेय्यारण्यक २।१।६)।

वैदिक ऋचाहरू मा, प्रमा, प्रतिमा, गायत्री, उष्णिक्, अनुष्टुप्, बृहती, पङ्क्ति, त्रिष्टुप्, जगती इत्यादि छन्दहरूमा निबद्ध छन्। वेद छन्दोमय भएकाले वेदलाई नै छन्द पनि भन्दछन्। गायत्री, उष्णिक् इत्यादि सातोटै छन्द प्रत्येकका आर्षी, दैवी, आसुरी, प्राजापत्या, याजुषी, साम्नी, आर्ची र ब्राह्मी भन्ने भेद हुने कुरा छन्दश्शास्त्रको मुख्य ग्रन्थ पिङ्गलच्छन्दस्सूत्रमा उल्लिखित छ। आर्षी गायत्री छन्दमा २४, आर्षी उष्णिक् छन्दमा २८, आर्षी अनुष्टुप् छन्दमा ३२, आर्षी बृहती छन्दमा ३६, आर्षी पङ्क्ति छन्दमा ४०, आर्षी त्रिष्टुप् छन्दमा ४४ र आर्षी जगती छन्दमा ४८ अक्षर हुन्छन्। त्यसै गरी अतिजगती छन्दमा ५२, शक्वरी छन्दमा ५६, अतिशक्वरी छन्दमा ६०, अष्टि छन्दमा ६४, अत्यष्टि छन्दमा ६८, धृति छन्दमा ७२, अतिधृति छन्दमा ७६, कृति छन्दमा ८०, प्रकृति छन्दमा ८४, आकृति छन्दमा ८८, विकृति छन्दमा ९२, सङ्कृति छन्दमा ९६, अभिकृति छन्दमा १०० र उत्कृति छन्दमा १०४ अक्षर हुने कुरा पनि पिङ्गलच्छन्दस्सूत्रमा बताइएको छ। गायत्री द्विपदा (दुई पाउ हुने), त्रिपदा (तीन पाउ हुने) र चतुष्पदा (चार पाउ हुने) पनि हुन्छन्। अरू छन्दमा पनि कुनैमा एक, कुनैमा दुई, कुनैमा तीन, कुनैमा चार, कुनैमा पाँच र कुनैमा छओटा पाउ पनि हुन सक्ने कुरा पिङ्गलछन्दस्सूत्रका अध्ययनबाट बुझिन्छ। छन्दका भेद अति धेरै छन्।

छन्द र छन्द अन्तर्गतका विविध वृत्तहरू

वैदिक छन्दहरूबाटै अनुष्टुप् (श्लोकवृत्त), इन्द्रवज्रा, उपेन्द्रवज्रा, वंशस्थ, वसन्ततिलका इत्यादि लौकिक वृत्तहरूको पनि उत्पत्ति भएको हो। वैदिक छन्दमा केवल अक्षरका सङ्ख्याको मात्र विचार हुन्छ, तिनको मात्राको वा यगण मगण इत्यादि गणको (गुरु–लघु अक्षरको विशिष्ट क्रमको) विचार हुँदैन। (“अक्षरको विभाजन र गुरुत्व तथा लघुत्व” भन्ने शीर्षकको लेख २०८०।२।७ मितिमा प्रकाशित गरिसकिएको छ।) किन्तु लौकिक छन्दमा (वृत्तमा) गुरु–लघु अक्षरको विशेष क्रमका आधारमा छन्दका अवान्तर भेदहरू बनेका छन्। छन्दका यस्ता अवान्तर भेदलाई वृत्त भन्दछन्। यो कुरा नेपाली भाषामा हाम्रा पिताजी शिवराज आचार्य कौण्डिन्न्यायनले (१९९७—२०७४) उहिल्यै “वृत्तनक्षत्रमाला” भन्ने छन्दोग्रन्थमा (प्रस्तावना, पृ. ख, २०२८) लेख्नुभएको छ।

त्यहाँ “त्रिष्टुप् (एगार अक्षरका पाउ हुने) छन्दमा इन्द्रवज्रा वृत्त, त्रिष्टुप् (एगार अक्षरका पाउ हुने) छन्दमा स्वागता वृत्त, त्रिष्टुप् (एगार अक्षरका पाउ हुने) छन्दमा रथोद्धता वृत्त, त्रिष्टुप् (एगार अक्षरका पाउ हुने) छन्दमा शालिनी वृत्त, अत्यष्टि (सत्र अक्षरका पाउ हुने) छन्दमा शिखरिणी वृत्त, अत्यष्टि (सत्र अक्षरका पाउ हुने) छन्दमा पृथ्वी वृत्त, अत्यष्टि (सत्र अक्षरका पाउ हुने) छन्दमा मन्दाक्रान्ता वृत्त, अतिधृति (उन्नाइस अक्षरका पाउ हुने) छन्दमा शार्दूलविक्रीडित वृत्त” इत्यादि प्रकारले छन्द र वृत्तको उल्लेख गरेर स्पष्टसँग छन्द र वृत्तको भेद खुलाइएको पनि छ। चारै पाउका अक्षर गन्दा भने त्रिष्टुप्का ४४ अक्षर, अत्यष्टिका ६८ अक्षर र अतिधृतिका ७६ अक्षर हुन्छन्। त्यसैले “त्रिष्टुप् (४४ अक्षर हुने) छन्दमा स्वागता वृत्त, अतिधृति (७६ अक्षर हुने) छन्दमा शार्दूलविक्रीडित वृत्त” इत्यादि भनेर पनि छन्द र वृत्तको उल्लेख गर्न सकिन्छ।

पिङ्गलच्छन्दस्सूत्रका वैदिक प्रकरणमा “छन्दः” (२।१) यस सूत्रका अधिकारभित्र “गायत्री” (२।२) इत्यादि सूत्रले प्रतिपादन गरेका गायत्रीदेखि उत्कृतिसम्मका माथि नै उल्लेख गरेका सबै छन्द हुन् भन्ने स्पष्ट बुझिन्छ। पिङ्गलच्छन्दस्सूत्रमै “वृत्तम्” (५।१) यस सूत्रका अधिकारभित्र “शार्दूलविक्रीडितं …” (७।२२) इत्यादि सूत्रले प्रतिपादन गरेकाजति चाहिँ सबै वृत्त भनिन्छन्। पिङ्गलच्छन्दस्सूत्रका प्राचीन व्याख्याकार हलायुधले पनि “वृत्तम्” भन्ने उक्त सूत्रका व्याख्यामा “..यदित ऊर्ध्वमनुक्रमिष्यामस्तद् वृत्तं वेदितव्यम्” अर्थात् यसपछि जेको वर्णन गर्नेछौँ त्यसलाई वृत्त भनेर जान्नू भनेका छन्। साथै उनले “गायत्र्यादौ छन्दसि वर्तत इति वृत्तम्” अर्थात् गायत्री इत्यादि छन्दअन्तर्गत हुने वृत्त हो भनेर वृत्तशब्दको व्युत्पत्ति पनि देखाएका छन्।

केदारभट्टले छन्दश्शास्त्रको ग्रन्थ वृत्तरत्नाकरमा “सममर्धसमं वृत्तं विषमं च तथापरम्” (श्लोक १३) अर्थात् चारै पाउ उस्तै भए–नभएका आधारमा वृत्तलाई समवृत्त, अर्धसमवृत्त र विषमवृत्त भनेर तीन प्रकारले विभाजन गरिने कुरा बताएका छन्। उनले चारै पाउ एउटै लक्षण भएका छन् भने समवृत्त, पहिलो र तेस्रो उस्तै दोस्रो र चौथो उस्तै भएमा अर्धसमवृत्त र चार पाउ विभिन्न वृत्तका भएमा विषमवृत्त भनेर तीन प्रकार हुने कुरा बताएका छन्।

यसै गरी गङ्गादासले आफ्नो छन्दश्शास्त्रको प्रसिद्ध ग्रन्थ छन्दोमञ्जरीमा लौकिक छन्दहरू वृत्त र जाति गरी दुई प्रकारका हुन्छन् भनेका छन्—

“पद्यं चतुष्पदी तच्च वृत्तं जातिरिति द्विधा।

वृत्तमक्षरसङ्ख्यातं जातिर्मात्राकृता भवेत्।।” (श्लोक ४)

अर्थात्— चार पाउको पद्य हुन्छ, पद्य दुई प्रकारका हुन्छन् वृत्त र जाति, जसमा अक्षरहरूको गणना हुन्छ त्यसलाई वृत्त भन्दछन्, जसमा मात्राहरूको गणना हुन्छ त्यसलाई जाति भन्दछन्। यसबाट पनि शार्दूलविक्रीडित इत्यादिलाई वृत्त र आर्या इत्यादिलाई जाति भन्नुपर्ने कुरा स्पष्ट हुन्छ। यस विषयमा हाम्रा पिताजीले संस्कृतकाव्यशास्त्रको मूर्धन्य ग्रन्थ काव्यप्रकाशको हैमवती नामको व्याख्यानग्रन्थमा “षट्सप्तत्यक्षरायाम् अतिधृत्यां छन्दसि शार्दूलविक्रीडितं वृत्तम्, न तु शार्दूलविक्रीडितं छन्दः …” इत्यादि लेख्नुभएको छ (मोतीलाल बनारसीदास, सन् १९८१, पृ.१६)। यसरी यहाँ “शार्दूलविक्रीडित वृत्त भन्नुपर्छ, शार्दूलविक्रीडित छन्द भन्न उचित हुँदैन” भनेर स्पष्ट शब्दमा भनिएको छ। गायत्री इत्यादि वैदिक छन्दमा गुरु लघु अक्षरका गणको विचार हुँदैन। त्यसैले गुरु–लघु अक्षरका गणले बनेका वृत्तलाई छन्द भन्दा कुरा बुझिँदैन। त्यसैले इन्द्रवज्रा, मन्दाक्रान्ता, शार्दूलविक्रीडित इत्यादिलाई छन्द नभनेर वृत्त भन्नु उचित र शास्त्रसम्मत पनि हो भन्ने कुरा स्पष्ट हुन्छ।

छन्दश्शास्त्र

यिनै छन्दहरूको र वृत्तहरूको परिचय दिने शास्त्र छन्द, छन्दश्शास्त्र वा छन्दोविचिति पनि भनिन्छ। छन्दश्शास्त्रमा छन्दहरूको अक्षरसङ्ख्या, पाउ, वर्ण, देवता इत्यादिको प्रतिपादन गरिएको छ। वैदिक तथा लौकिक दुवैथरी छन्दहरूको लक्षण बताउने पिङ्गल मुनिद्वारा प्रणीत छन्दस्सूत्र यस विषयको प्रामाणिक तथा प्राचीन स्वतन्त्र ग्रन्थ हो। यसमा आठ अध्याय छन् र अध्यायभित्र सूत्रहरू छन्। पिङ्गलको समय आधुनिक विचारकका मतमा विक्रम संवत् आरम्भ हुनुभन्दा लगभग ८०० वर्षजति अगिको हो भन्ने मानिएको छ। पिङ्गलच्छन्दस्सूत्रको हलायुधले रचना गरेको मृतसञ्जीवनी नामको व्याख्या (वृत्ति) र यादवप्रकाशले रचना गरेको छन्दस्सूत्रभाष्य नामको व्याख्या उपलब्ध छन्। छन्दश्शास्त्रका विषयमा केही विस्तृत चर्चा वेद–वेदाङ्गोपाङ्ग–विमर्शः भन्ने ग्रन्थमा पनि गरिएको छ (आमोदवर्धन कौण्डिन्न्यायन, २०७९, पृ. ३३, १९१–१९७)। पद्यबद्ध रचना स्वर वा लय मिलाएर (भाका हालेर) वाचन गर्न पनि लौकिक वृत्तहरूको ज्ञान आवश्यक हुन्छ। छन्द र वृत्तको परिभाषा यसै लेखमा पनि स्पष्ट पारिएको छ।

वेदका मन्त्रहरू विभिन्न छन्दमा बाँधिएका छन्। त्यसैले छन्दको इतिहास खोज्दा यो अत्यन्त प्राचीन ठहर्दछ। वेदलाई नै छन्द पनि भन्दछन्। पिङ्गलछन्दस्सूत्रका आधारमा छन्दशास्त्रका अन्य ग्रन्थ पनि पछिपछि रचिए। तिनमा वृत्तरत्नाकर, छन्दोमञ्जरी इत्यादि ग्रन्थ प्रसिद्ध छन्। हाम्रा परम्परामा छन्दमा कविता रच्न चाहनेहरूले छन्दको ज्ञान गर्ने प्रारम्भिक ग्रन्थचाहिँ कवि कालिदासको “श्रुतबोध” हो। मोतीराम भट्टले पनि कवि भानुभक्ताचार्यको जीवनचरित्रका अन्त्यमा कविहरूलाई पिङ्गलच्छन्दस्सूत्र पढ्न नसके पनि श्रुतबोधको अभ्यास गर्न सुझाव दिएका छन् (१९४८, पृ. ५१)।

छन्दहरूको र वृत्तहरूको परिचय दिने शास्त्र छन्द, छन्दश्शास्त्र वा छन्दोविचिति पनि भनिन्छ। छन्दश्शास्त्रमा छन्दहरूको अक्षरसङ्ख्या, पाउ, वर्ण, देवता इत्यादिको प्रतिपादन गरिएको छ। वैदिक तथा लौकिक दुवैथरी छन्दहरूको लक्षण बताउने पिङ्गल मुनिद्वारा प्रणीत छन्दस्सूत्र यस विषयको प्रामाणिक तथा प्राचीन स्वतन्त्र ग्रन्थ हो। यसमा आठ अध्याय छन् र अध्यायभित्र सूत्रहरू छन्।

छन्द र वृत्तका परिभाषामा सन्देह

छन्द र वृत्तका परिभाषामा रहेको उपर्युक्त प्रकारको शास्त्रीय परिभाषाका सम्बन्धमा नेपाली समाजमा सन्देह र भ्रम रहेको देखिन्छ। यो कुरा हाम्रा पिताजी शिवराज आचार्य (१९९७—२०७४) र प्रसिद्ध ज्योतिषी नयराज पन्तका (१९७०—२०५९) का बिच भएको संवाद र वाद–विवादबाट पनि बुझ्न सकिन्छ। त्यसको विवरण “जिम्दो नेपालि भासा” (शिवराज आचार्य, दोस्स्रो खण्ड, २०३७) भन्ने ग्रन्थमा प्रकाशित भएको छ। त्यो विषय सान्दर्भिक भएकाले त्यसको सारांश यहाँ प्रस्तुत गरिन्छ।

पहिला नयराज पन्तले स्वागता, मन्दाक्रान्ता इत्यादि वृत्तलाई वृत्त भनेर नलेखेर छन्द भनेर लेखेकामा छन्द र वृत्तको उपर्युक्त परिभाषा हाम्रा पिताजीले प्रत्यक्ष भेटमा पन्तजीलाई मौखिक रूपमा बुझाउनुभएको रहेछ। त्यसपछि त्यो कुरा मनन गर्दा युक्तिसङ्गत लागेर पन्तजीले संशोधन मण्डलको इतिहासप्रधान त्रैमासिक पत्रिका पूर्णिमामा (वर्ष ८, अङ्क २, पूर्णाङ्क ३०, २०३० चइत, पृ. १५०) यस्तो लेखेर छपाएको पाइन्छ— “हामीले श्री ५ पृथ्वीनारायण शाहका उपदेशका ३११–३१३ पृष्ठमा छन्दको विचार भनी स्वागता मन्दाक्रान्ता इत्यादिका लक्षण लेखेका थियौँ। हालै प्राध्यापक शिवराज आचार्यले छन्द व्यापक र वृत्त व्याप्य हो; हुन त आजभोलि केही मानिसहरू वृत्तको सट्टा छन्द पनि लेख्छन्, तर शास्त्रको दृष्टिले छन्द भन्‍नुभन्दा वृत्त भन्नु बढिया हो भन्ने सुझाव दिनुभयो। सो कुरा उचित देखिन्छ। यस विषयमा पछि सप्रमाण लेख्ने हाम्रो विचार छ। सुझाव दिनुभएकोमा हामी शिवराजजीलाई धन्यवाद दिन्छौँ।” यो कुरा “जिम्दो नेपालि भासा” भन्ने ग्रन्थमा पनि (शिवराज आचार्य, दोस्स्रो खण्ड, २०३७, पृ. १८९, टिप्पणी) उद्धृत गरिएको छ।

यसरी आफैँले पहिला लिखित रूपमै सकारेका कुराको आफैँले खण्डन गर्दै केही समयपछि पन्तजीले तीनधारा संस्कृत छात्रावासबाट प्रकाशित अरुणोदय भन्ने त्रैमासिक पत्रिकामा (वर्ष १४, अङ्क ३—४, २०३४ कार्तिक—चैत्र, पृ. ४१, टिप्पणी) यस्तो लेखेर छपाएको देखिन्छ— “छन्द र वृत्तको भेदको विषयमा शिवराजले दिनुभएको सुझाव मानी आफ्नो लेखमा हामीले संशोधन गरेको कुरा माथि मैले लेखिसकेको छु। त्यस वेला विशेषज्ञ विद्वान्‌हरुको परामर्श मैले लिएको थिइनँ। अहिले प्रा.लोकनाथ ढकाल, प्रा.सोमनाथ पौडेल, प्रा.तेजकेशरी शर्मा, प्रा.चेतोनाथ आचार्य तथा प्रा.विदुर पौडेलहरूको यस विषयमा मैले सकारेको संशोधन शास्त्रविरुद्ध हुन गयो भनी जोरदार सोपपत्तिक विरोध आइरहेछ। यस कारण विशेषज्ञको परामर्शविना यस्ता कुरामा हात हाल्नु ठीक हुँदो रहेनछ भन्ने विचार मेरो मनमा झन् दृढ हुन गएको छ।” यो कुरा “जिम्दो नेपालि भासा” भन्ने ग्रन्थमा पनि (शिवराज आचार्य, दोस्स्रो खण्ड, २०३७, पृ. १९७—१९८) उद्धृत गरिएको छ।

यसरी आफैँले लेखेका कुराको खण्डन गरेर लेख प्रकाशित गरे पनि नयराज पन्तले त्यस विषयमा युक्ति–उपपत्ति दिएर पछि केही लेखेको नदेखिएकाले हाम्रा पिताजीले पुनः यस्तो लेख्नुभयो— “स्वागता छन्द इत्यादि भन्नभन्दा स्वागता ब्रित्त इत्त्यादि भन्नु बडिया हो’ भन्ने मेरो भनाइको बिरोदमाँ के के उपपत्ति दिय्या रचन्‌ र ‘एस विषयमा पछि सप्प्रमाण लेख्नि हाँम्म्रो बिचार छ’ भन्नि नयराजादिले देखेका प्रमाण कसरि कता बिलाएचन्, त्यो कुरा लिखित–मुद्द्रित रुपमाँ प्रकासित हुन सक्‍यो भने मँ मेरो उक्त भनाइको सप्प्रमाण उपपादन गर्नि छु। एस बिसयमाँ मेरो ब्रित्तनच्छ्यत्त्रमाला–(बिक्क्रेता— साजाप्रकासन्‌)बड पँनि सामान्यतया पाठकहरु मेरा भनाइ बुन्न सक्नुञ्च।” यो कुरा हाम्रा पिताजीले २०३५।५।१८ मितिमा प्रकाशित गर्नुभएको “नेपालि ब्याकर्णको आदारभुत ब्याकरण्सिद्दान्तका बिसयमा कुरा गर्दा मैँले पाँणिनि आदिका मूल सिद्दान्तको प्रतिकुल कुरा केइ बोल्या छैनँ” भन्ने स्वतन्त्र पुस्तिकामा उल्लिखित छ (पृ. ट) र यो पुस्तिका “जिम्दो नेपालि भासा” भन्ने ग्रन्थको दोस्स्रा खण्डमा समाविष्ट पनि छ (२०३७, १९८ र १९९ पृष्ठहरूका बिचमा)। यो पुस्तिका छाप्पिनेबित्तिकै पिताजीले नयराज पन्तलाई यो पुस्तिका दिन मलाई पठाउनुभएको थियो र वाल्मीकि विद्यापीठको ज्योतिषका कक्षाकोठामा गएर मैले नै पन्तजीको हातमा उक्त पुस्तिका दिएको थिएँ। पिताजीले मलाई विद्यालयमा नपढाएर घरमा आफ्नै साथमा राखेर पढाउने गर्नुहुन्थ्यो र आफूसित सँगै विद्यापीठ पनि लैजाने गर्नुहुन्थ्यो। त्यति वेला म सानै बालक भए पनि मलाई त्यस घटनाको धूमिल सम्झना अझै पनि छ।

उपसंहार

त्यसै वेला हाम्रा पिताजी शिवराज आचार्यको र नयराज पन्तको भाषाव्याकरणका विषयमा समेत लिखित वादविवाद चलिरहेको थियो र अन्त्यमा पिताजीको उक्त लेख अरुणोदय पत्रिकामा नछापिने स्थिति आएकाले उहाँले त्यो लेख स्वतन्त्र पुस्तिकाका रूपमा प्रकाशित गरेर प्रचार गर्नुभएको थियो। उक्त र अन्य वादविवाद केकसरी चलेका रहेछन् भनेर “जिम्दो नेपालि भासा” (दोस्स्रो खण्ड, २०३७) मा हेर्न सकिन्छ। पिताजीको उक्त पुस्तिकाको कुनै उत्तर दिने काम पन्तजीबाट हुन सकेन। पहिला आफैँले सकारेका कुराको खण्डन गरेपछि त्यसमा युक्ति–उपपत्ति दिएर लेख्नैपर्नेमा त्यो काम पन्तजीबाट हुन सकेन। ज्योतिषकै भास्करप्रणीत ग्रन्थ लीलावतीबाट पनि छन्द र वृत्तको कुरा बुझ्न सकिनेमा पन्तजीले उक्त कुरा अर्काले बुझाइदिइसकेपछि र आफैँले स्वीकारिसकेपछि पनि किन त्यसको विपरीत अधकल्चो कुरा मात्र लेखेर जानुपर्ने अवस्था आएछ भनेर विद्याका क्षेत्रमा काम गर्नेहरूका निम्ति विचारणीय कुरा हुन आएको छ। छन्द र वृत्तका विषयमा यथार्थ शास्त्रीय कुरा बुझ्नु वेद, संस्कृत साहित्य, नेपाली साहित्य र भाषाशास्त्रका जिज्ञासुहरूका निम्ति तथा विद्याका क्षेत्रमा काम गर्नेका निम्ति पनि आवश्यक र उचित देखिएकाले यस विषयको विवेचना यहाँ गरिएको हो।

(२०५३ साल वैशाख ८ गते अनौपचारिक रूपमा पोखराका माधव वियोगीले सुरु गरेको छन्द बचाउ अभियानलाई २०६७ सालमा आएर नेपाल सरकारको पञ्चाङ्ग निर्णायक समितिले मान्यता दिएर वैशाख ८ गतेलाई “छन्ददिवस”का रूपमा पात्रोमा उल्लेख गर्न थालेको छ।)

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोमा र अन्तिम भेट
शुक्रबार, वैशाख १४, २०८१

दशैंको महिमा र महत्व 
शुक्रबार, वैशाख १४, २०८१

नेपाली बौद्धिकताको पलायन
शुक्रबार, वैशाख १४, २०८१