कैलालीमा हिउँदेबाली उत्पादन वृद्धि

शनिबार, जेठ ५, २०८१

कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा तीन दशमलव ४२ प्रतिशतले वृद्धि भएको हो ।

दाना लाग्ने बेला पानी परेकाले गहुँ उत्पादन वृद्धि भएको कृषि ज्ञानकेन्द्र कैलालीका सूचना अधिकारी श्यामराज जोशीले बताए । गत वर्ष जिल्लाभर ३४ हजार ५६५ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख तीन हजार ४७१ मेट्रिकटन उत्पादन भएको थियो । यस वर्ष ३२ हजार ८४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १२ हजार ३१२ मेट्रिकटन उत्पादन भएको सूचना अधिकारी जोशीले जानकारी दिए ।  

उनले गत वर्षको तुलनामा एक हजार ७२५ हेक्टर कम क्षेत्रफलमा गहुँखेती गरिए पनि दाना लाग्ने बेलामा पानी परेकाले गहुँ उत्पादनमा वृद्धि भएको बताए । यसैगरी यो वर्ष नौ हजार ५२० हेक्टर क्षेत्रफलमा दलहनबाली लगाइएकामा १० हजार ४९१ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष नौ हजार ५०४ हेक्टर क्षेत्रफलमा आठ हजार ७७० मेट्रिकटन दलहन बाली उत्पादन भएको थियो । यस वर्ष दलहनबाली एक हजार ७२१ मेट्रिकटनले वृद्धि भएको हो ।

यो वर्ष १४ हजार ६० हेक्टरमा तेलहनबाली लगाइएकामा १४ हजार ३२ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष १४ हजार ४१ हेक्टर क्षेत्रफलमा १३ हजार ७९७ मेट्रिकटन तेलहनबाली उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
    
त्यस्तै ५४ हजार ८२ हेक्टर क्षेत्रफलमा यस वर्ष हिउँदे तरकारीखेती गरिएकामा ६९ हजार १३६ मेट्रिकटन उत्पादन भएको जनाइएको छ । गत वर्ष ५५ हजार एक हेक्टर क्षेत्रफलमा ६९ हजार १०६ मेट्रिकटन हिउँदे तरकारी उत्पादन भएको थियो ।
    
यस वर्ष जिल्लामा मसलाबाली उत्पादनमा समेत वृद्धि भएको छ । यो वर्ष १६ हजार ६६७ हेक्टरमा मसला खेती गरिएकामा १९ हजार १७ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष १६ हजार २७ हेक्टरमा १८ हजार ६८२ मेट्रिकटन मसला बाली उत्पादन भएको थियो ।
    
गत वर्षको तुलनामा फलफूल बाली र नगदेबाली उत्पादनमा केही ह्रास आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष ३२६ हेक्टर क्षेत्रफलमा दुई हजार ९५३ मेट्रिकटन फलफूल उत्पादन भएको छ । गत वर्ष तीन सय २६ हेक्टरमा तीन हजार २० मेट्रिकटन फलफूल उत्पादन भएको थियो ।

दुई हजार ९९२ हेक्टरमा छ हजार १४ मेट्रिकटन अन्य नगदेबाली उत्पादन भएको छ । गत वर्ष दुई हजार ९१० हेक्टरमा छ हजार ३२ मेट्रिकटन नगदेबाली उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष कैलालीमा जम्मा ५९ हजार २२५ हेक्टर क्षेत्रफलमा हिउँदे खेती गरिएकामा तीन लाख छ हजार ८१९ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष ६० हजार ७९६ हेक्टर क्षेत्रफलमा दुई लाख ९१ हजार ५२ मेट्रिकटन उत्पादन भएको तथ्यांक कृषि ज्ञान केन्द्रसँग छ ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्