सोसल मिडिया
युनिकोड
यो वर्षको नाफाबाट अधिकांश वाणिज्य बैंकले लगानीकर्तालाई प्रतिफल वितरण गर्न नसक्ने देखिएको छ। २० मध्ये १० वटा बैंक त लाभांश वितरण गर्न नै नसक्ने स्थितिमा छन्। अन्य बैंकहरुले पनि विगतको तुलनामा निकै कम प्रतिफल वितरण गर्ने देखिएको छ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा बैंक तथा वित्तीय संस्थाहरुको वितरणयोग्य नाफा घटेको छ। गत वर्षको तुलनामा धेरै बैंकहरुको वितरणयोग्य नाफा घटेकाले यस वर्ष लगानीकर्ताले पाउने लाभांशमा प्रभाव परेको हो।
सीमित बैंकले मात्रै गत वर्षभन्दा सुधार गरेका छन्। उनीहरुको वितरणयोग्य नाफा ठूलो अंकमा घटेको छैन। चालू आर्थिक वर्षको चैत मसान्तसम्म सबैभन्दा धेरै एभरेष्ट बैंकको वितरणयोग्य नाफा २ अर्ब ७५ करोड रुपैयाँ छ, जुन गत वर्षभन्दा १८ दशमलव २० प्रतिशत कम हो।
दोस्रो स्थानमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड रुपैयाँ छ। उक्त बैंकको पनि गत वर्षको तुलनामा २९ दशमलव १८ प्रतिशतले वितरणयोग्य नाफा घटेको छ।
तेस्रो स्थानमा रहेको नबिल बैंकको यस्तो नाफा १ अर्ब ८१ करोड रुपैयाँ छ। गत वर्षको यही अवधिको तुलनामा १२ दशमलव ७० प्रतिशतले घटेको छ।
यता कृषि विकास बैंकले भने ठूलो प्रगति गरेको छ। बैंकले ९३ दशमलव १४ प्रतिशतले वितरणयोग्य नाफा बढाउँदै १ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ।
नेपाल एसबीआई बैंकको वितरणयोग्य नाफा ८३ करोड ४३ लाख छ। जुन गत वर्षको तुलनामा २८ दशमलव ५४ प्रतिशतले घटेको छ।
त्यस्तै सानिमा बैंकको ७५ करोड ६८ लाख रुपैयाँ वितरणयोग्य नाफा छ। यस बैंकको पनि ३७ दशमलव १८ प्रतिशतले घटेको हो।
प्राइम बैंकको वितरणयोग्य नाफा ३१ करोड ३३ लाख रुपैयाँ रहेको छ। जुन गत वर्षको तुलनामा ३ दशमलव ९२ प्रतिशतले बढेको हो।
राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफामा ८९ दशमलव ८० प्रतिशत घटेको हो। ९ महिना अवधिमा बैंकको वितरणयोग्य नाफा २४ करोड ६२ लाख रुपैयाँ छ।
प्रभु बैंकको वितरणयोग्य नाफा १६ करोड ६५ लाख रुपैयाँ छ। यो गत वर्षको तुलनामा १९१ दशमलव ०३ प्रतिशत कम हो।
सिटिजन्स बैंकको वितरणयोग्य नाफा १ करोड ८९ लाख रुपैयाँ छ। जुन गत वर्षको तुलनामा ८६ दशमलव ८१ प्रतिशत कम हो।
चालू आर्थिक वर्षको ९ महिना अवधिमा १० वटा वाणिज्य बैंकहरु ऋणात्मक देखिएका छन्।
यी बैंक आगामी वर्ष लाभांश वितरण गर्न सक्ने स्थितिमा नदेखिएका हुन्।
ती बैंकमध्ये सिद्धार्थ बैंकको वितरणयोग्य नाफा २७ करोड १२ लाख रुपैयाँले ऋणात्मक छ। त्यस्तै माछापुच्छ्रे बैंक ३० करोड ४५ लाख, ग्लोबल आईएमई बैंक ४२ करोड ३१ लाख, एनएमबी बैंक ४२ करोड ९२ लाख, नेपाल बैंकको १ अर्ब ४ करोडले ऋणात्मक छन्।
यीबाहेक वितरणयोग्य नाफाको हिसाबले लक्ष्मी सनराइज बैंक १ अर्ब २४ करोड, कुमारी बैंक १ अर्ब ५७ करोड, एनआईसी एसिया बैंक १ अर्ब ७२ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ५ अर्ब ८ करोड, हिमालयन बैंक ५ अर्ब २४ करोड रुपैयाँले ऋणात्मक छन्।