सोसल मिडिया
युनिकोड
ट्राफिक प्रहरी जवान ३२ वर्षीय युवराज घिमिरेको हत्यामा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर घटनामा संलग्नलाई सार्वजनिक गरेको हो ।
प्रहरीले सार्वजनिक गरिएकामा भक्तपुरका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोटका १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाका २१ वर्षीया विपना बसन्ती भन्ने वसुन्धरा कार्की, स्याङ्जाका विजय चौधरी, ५६ वर्षीया नुनमाया कार्की, नुवाकोटका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोकका ३० वर्षीय दोर्जे अमृत तामाङ, एकजना १३ वर्षीय नाबालक छन् । उनीहरू हाल बालाजु, जरंखु, मनमैजुलगायत स्थानहरूमा सडकपेटी निर्माण घरहरूमा आश्रय बनाइ बस्ने गरेको खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए ।
हत्यामा संलग्न व्यक्तिलाई काठमाडौं महानगरपालिका–१६ स्थित अष्टनारायण हलपछि र बाइसधारा जंगलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई एक राउन्ड हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले बताएको छ । घर जाने बाटोको प्राविधिक पक्षहरूको विश्लेषण गर्दा हत्यामा संलग्नहरू विगतमा चोरी, लुटपाट, कुटपिट लगायतका अपराधमा संलग्न व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ ।
प्रहरी जवान घिमिरे खोटाङको मझुवागढी नगरपालिका–१ घर भइ हाल काठमाडौंको टोखा नगरपालिका–१०, गोंगबुको गणेशस्थान बस्दै आएका थिए ।
घिमिरेको हत्या कसरी भयो ?
एसएसपी रजौरेका अनुसार प्रारम्भिक अनुसन्धानमा त्यस दिन घिमिरे ड्युटी सकेर आफ्ना सहकर्मीहरूसँग छुट्टिएको पाइएको छ। त्यसपछि घिमिरे घर जानुअघि खाजा-नास्ता खान तारकेश्वर नगरपालिका-११ स्थित एक खाजा घरमा पुगेको सिसिटिभी फुटेजसमेतले देखाएको छ।
घिमिरे खाजा खाइरहेको बेलामा सचिन परियार र अन्जली श्रेष्ठ त्यहाँ पुगेका थिए। घिमिरे र सचिनको पुरानो चिनजान थियो। अन्जलीसमेत मिसिएपछि तीन जना एउटै टेबलमा बसेर खाजा खाए।
‘खाजा खाइसकेपछि सचिनले आफूले आश्रय लिइरहेको घर (घटनास्थलसम्म) मोटरसाइकलमा पुर्याइदिन आग्रह गरे,’ रजौरेले भने, ‘घिमिरेले दुबै जनालाई मोटरसाइकलमा राखेर पुर्याइदिए।’
त्यहाँ पुगेपछि सचिनले अन्जलीलाई बिसन्चो भएको भन्दै माथिसम्म जान नसक्ने बताए। अन्जलीलाई बोकेर लैजान युवराजको सहयोग मागे। युवराजले सहयोग गरिदिए।
सचिन र अन्जलीले आश्रय लिइरहेको घरको पहिलो तलामा पुगेपछि सचिनले अचानक घिमिरेको हेल्मेट खोसे। हेल्मेटले उनको टाउकोमा प्रहार गरे।
लगत्तै घटनास्थलमा बसिरहेका अन्य विपना, नुनमाया, बुद्ध, अमृत र नाबालकसमेत एक भएर न्युकेल, रड, इँटा, युवराजको युनिफर्मको बेल्ट, ढुंगालगायतले हिर्काएर घिमिरेको हत्या गरे।
हत्या गरेपछि घिमिरेको शवलाई म्याट्रेसले छोपेर लुकाए। घिमिरेले लगाएको जुत्ता जलाएर नष्ट गरी जरंखुतर्फ सडकपेटीमा गएर लुके।
हत्याको कारणबारे प्रहरीले खोजी गरिरहेको रजौरेले बताए। घिमिरेको हत्या गर्नुमा लुटपाट, महिलासँगको विवादलगायत कारण हुन सक्ने एसएसपी रजौरेले बताए।