स्टाफ कलेजका पूर्वाहाकिमको ‘तालिम व्यवस्थापन सिंहावलोकन’ पुस्तकमा के छ ?

सोमबार, जेठ ७, २०८१

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक नयनबहादुर खड्काद्वारा लिखित ‘तालिम व्यवस्थापन सिंहावलोकन’ पुस्तक विमोचन गरिएको छ । 

८० वर्षीय खड्काद्वारा लिखित उक्त पुस्तकको विमोचन स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा राजेन्द्र सुवालले गरे  । सुवालले स्थानीय विकास प्रतिष्ठानमा अधिकृतदेखि कार्यकारी निर्देशकसम्मको पदमा रहेर कार्यसम्पादन गर्नुभएका अग्रज तथा बौद्धिक व्यक्तित्वबाट लिखित पुस्तकले नयाँ पुस्तामा तालिमसम्बन्धी ज्ञान, सीप र क्षमताको अभिवृद्धिमा महत्त्वपूर्ण सहयोग पु¥याउने बताए  ।

“यो किताब अत्यन्तै महत्त्वपूर्ण तथा उपयोगी छ, यसले तालिम व्यवस्थापनका क्षेत्रमा प्रभावकारी भूमिका खेल्नेमा कुनै द्विविधा छैन”, उनले भने। 
    
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)का सेवानिवृत विशिष्ट कर्मचारी डा दिनेश पन्तले पुस्तकमार्फत नयाँ पुस्तामा ज्ञानको हस्तान्तरण भएको बताए  । “यो उमेरमा पनि उहाँले आफ्नो ज्ञान, सीप र अनुभवका आधारमा प्रकाशनमा ल्याउनु ठूलो कुरा हो । यो तेस्रो कृतिमा समेटिएको अनुभवलाई तालिम सञ्चालनमा उपयोगमा ल्याउन सक्दा ज्यादै उपयोगी हुनेछ”, उनले भने  ।

विसं २०३२ देखि २०६६ सालसम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सेवामा योगदान गर्नुभएका नयनबहादुर खड्काले अधिकृतदेखि कार्यकारी निर्देशकसम्मको जिम्मेवारीमा रहेर कार्यसम्पादन गरेका थिए  । सेवा अवधिमा ७६ जिल्लामा पुगेको बताएका खड्काले पहिलो पटक सुदूरपश्चिमको विकासको चित्रण र दोस्रो पटक न्यायिक समिति एवं मेलमिलापकर्ता स्रोत पुस्तिका प्रकाशन गर्नुभएको थियो । यो पुस्तकको प्रकाशन पैरवी प्रकाशनले गरेको हो ।
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्