बुहारीको उर्दी नमानेका ससुराले दिएनन् प्रचण्डलाई मत, सत्ता पक्षकै तीन जना हराए

सोमबार, जेठ ७, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको मत प्राप्त गरेका हुन्। 

प्रतिपक्षी नेपाली कांग्रेससहित दलको नारबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् ।

सोमबारकाे प्रतिनिधिसभाको दोस्रो बैठकमा उनले विश्वास मत प्राप्त गरेका हुन् । बैठकमा १५८ उपस्थित थिए । उनको पक्षमा १५७ मत पर्‍यो । विपक्षमा शून्य र तटस्थमा एक मत परेको सभामुख देवराज घिमिरेले जनाए ।

सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग राख्दै प्रतिपक्षीहरूले नारबाजी गरिरहे । १५ मिनेटका लागि स्थगित भएपछि बसेको दोस्रो बैठकमा मर्यादापालक लगाएर प्रधानमन्त्री प्रचण्ड रोष्ट्रम पुगेका थिए । उनको विश्वासको मतमाथिको प्रस्तावमा एमालेका उपाध्यक्ष विष्णु पौडेलमात्रै छलफलमा सहभागी भए ।

प्रधानमन्त्रीले विश्वासको मत लिने दिनको संसद् बैठकमा सत्तारुढ दलका तीन जना सांसद अनुपस्थित भएका छन् । बैठकमा नेकपा एमालेका बसन्त नेम्वाङ, नेकपा एसका प्रकाश ज्वाला र नागरिक उन्मुक्तिका गंगाराम थारु अनुपस्थित भएका हुन् । एमालेका सांसद नेम्वाङ २ महिनादेखि बिरामी छन् भेन अरु दुई सांसदको बारेका संसद सचिवालयलाई जानकारी छैन् । गंगाराम रेशम चौधरीका बुबा हुन्। उनलाई बुहारी रन्जिता श्रेष्ठ चौधरीले प्रचण्डलाई मत दिन भनेकी थिईन।  तर उनी बैठकमै गएनन्। 

नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्