सोसल मिडिया
युनिकोड
निजामति कर्मचारीको सरुवा हुनु र गरिनु अस्वाभाविक होइन। तर, सरुवा हुँदा र गरिँदा प्रयोग हुने र भएको विषयले भने सिंगो निजामति क्षेत्र गिजोलिएर आफैं थेत्तरो बन्न पुगेको छ। दलका नेताको दौराको फेर जसले समात्न सक्यो उसैको मात्र चाँदी कटाई हुने गरेको छ। योग्यता, क्षमता र कार्यसम्पादनमा काविल भएको मानक भन्दा पनि कुन नेता संग को कति नजिक छ अथवा कसले ज्यादा लगानी गर्छ त्यो मात्रलाई मानक बनाएर सरुवा हुने र गर्ने संस्कार जस्तै बनिसकेको छ।
सहसचिव र उपसचिव सरुवामा ज्यादा राजनीतिकरण र द्रब्यीकरण हुन थालेको हो। लोकसेवा बाट सोझै सहसचिव भएका र बढुवाबाट सहसचिव बनेका बिचको घनचक्करले पनि सहसचिव सरुवामा उत्पात चलखेल हुने गरेको छ। अझ आकर्षक स्थानमा जान आफ्नै सहकर्मी माथि तातोपानी खन्याउनेको जमात झन् बग्रेल्ती छ।
हप्तादिन भित्र तीन-चार वटा अड्डामा सरुवा गर्न मौजुदा निजामति ऐनले अधिकार दिएकै छैन। तर, आफू अनुकूल प्रयोग गरेर त्यसैलाई भुत्ते पार्ने काम कर्मचारीकै मूलीले गरेका छन्। र, त्यसको घिनलाग्दो प्रयोग अहिलेका मुख्यसचिव बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउँदा देखिने भएको हो।
पछिल्लो किस्तामा ठुलो संख्यामा सहसचिवको सरुवा भयो। त्यो सरुवामा किस्ता-किस्तामा नाम थपिने र काट्ने भयो। निश्चित मापदण्ड भएको हुन्थ्यो त त्यसरी काँटछाँट गर्नै पर्दैनथ्यो। राजनीतिकरण गराउन स्वयम् कर्मचारीले नै किस्तीमा सरुवाको सूची बनाउने र मालदार अड्डामा जाने बन्दोबस्ती मिलाउन नेता र मन्त्रीको खातिरदारी गरेर मेहनत गर्दै आएका छन्।
पछिल्लो पटकको सरुवाले पनि चरम विकृतिको पटाक्षेप गरेको छ। धेरै तिर प्रमुख जिल्ला अधिकारी चलाएका शिक्षक हुँदै निजामति क्षेत्रमा प्रवेश गरेका चक्रबहादुर बुढा अहिले राजस्व अनुसन्धान विभाग पुगेका छन्। त्यो भन्दा पहिले उनी पर्यटन विभागको डिजी थिए। पर्यटन विभाग आफैमा आकर्षक स्थान हो। तर उनलाई त्यतिले मात्र पुगेन।
२०८० असोज १ गते पर्यटन विभाग प्रवेश गरेका उनी छ महिना बसेर राजस्व तिर हान्निए। सरसर्ती हेर्दा उनको सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको हो। तर उनले पर्यटनबाट फ़ुत्किएर राजस्व पुग्ने बाटो मिलाउन कसरी ट्रयाक खाने त्यो निजामति ऐनले चिन्ने कुरै भएन। निजामति सेवा ऐनले राखेको सरुवाको दुई बर्षे प्रावधान कार्यान्वयन गराउन बुढाको पनि भूमिका हुन्थ्यो तर उनले त्यसको प्रवाह गरेनन्, किनकि उनलाई राजस्व अनुसन्धानमा पुग्नै पर्थ्यो। त्यसका लागि उनले अनेक गरे। त्यसको अन्तरकुन्तर उनको सरुवा परियोजनामा लागेका बाहेक अरू कमैलाई मात्र जानकारी होला। हिमाल आरोहण गर्न जानेको रखबरी गर्ने टोलीलाई एकसरो पठाएर राजस्वतिर पुगेका उनले उतैको कामलाईतिब्र बनाउन थालेका छन्, नतिजा बिस्तारै देखाउलान्। बुढा सचिव हुने लाईनकै सहसचिव हुन्। भोलि सामान्य प्रशासन सचिव भएका खण्डमा उनीले अहिले रोजेको सरुवाको बाटो अर्को कसैले रोज्दा बुढाले ऐन पल्टाएरै देखाईदिने हो।
चलखेलमा चक्र बुढा मात्र छैनन्। उनले विस्थापित गरेका नवराज ढुंगाना हुन् या त पुष्पराज शाहीलाई फ्याँकेर सामान्यबाट बाटो लाग्ने कमल भट्टराई नै किन नहुन सबैले आफ्नो पाईन र दम देखाएकै छन्। कमलप्रसाद भट्टराई माओवादी नेता अमनलाल मोदी सामान्य मन्त्री हुँदै पर्यटन विभागको डिजी बन्न सरुवा मिलाएर पर्यटनमै पुगेका थिए। तर, चक्र बुढाको सूत्रले ज्यादा काम गर्नाले भट्टराईको पाईला सामान्य बाट अगाडी चल्नै सकेन। उनी सामान्यमै थन्किए। उनलाई सम्पत्ति शुद्दिकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मा दिईएको छ। कुनै बेला पर्यटन विभाग ताकेका उनले गतिलाई अड्डा पाएका छन्। भट्टराई एमाले अध्यक्ष ओलीकै निर्वाचन क्षेत्रका स्थायी बासिन्दा हुन्। आजै उनले विभाग पुगेर काम थालेका छन्।
प्रधानमन्त्रीको पार्टी माओवादीले आफ्ना भनेर चिन्ने र हामी तपाईकै हौ भनेर स्वयम् घोषणा गर्नेलाई छानीछानी चल्तापूर्जा अड्डाको चाबी सुम्पिएको हो। ललितपुरको सिडिओ चलाईसकेका दुई जना सहसचिव पनि प्रचण्ड सरकारको रोजाईमै परेका छन्। ढुण्डीप्रसाद निरौलाले रोजाईको भन्सार विभाग पाएको निकै भयो। प्रकाशशरण महत अर्थमन्त्री हुँदा उनको निशानामा परेका निरौलाले प्रचण्ड सचिवालयको खातिरदारी गरेकै भरमा नाथम हुँदै भन्सारको जिम्मा पाएका हुन्। हालसालै मात्र रुद्रप्रसाद पण्डितले पर्यटन विभाग पाएका छन्। पण्डित नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा कर्ताकर्ता थिए।