कर्णालीमा एक अर्ब बजेट खर्च हुन थालेको गभर्नरले सुनाए हिसाब

सोमबार, जेठ ७, २०८१

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति परिवर्तन हुनुमा कर्णाली प्रदेशको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। 

नेपाल राष्ट्र बैंक सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्थित बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायी, पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसँगको छलफल कार्यक्रममा गभर्नर अधिकारीले भेरी र कर्णाली करिडोर बनाउँदा अर्थतन्त्र चलायमान हुने बताए  । उनले अब कर्णालीमा करिब रु एक अर्ब बजेट खर्च गर्न थालिएको बताए ।

गभर्नर अधिकारीले भने, “कर्णालीको भूगोल सबैभन्दा ठूलो छ । तर कर्जा सुविधा लिने एक जना मात्र भेटिए । हामीले प्रत्येक बैंकबाट पाँच जनालाई कर्जा दिने व्यवस्था गरेका छौँ ।” लघुवित्त संस्थामा ६० लाख सदस्य आबद्ध रहेको उल्लेख गर्दै उहाँले ती संस्थाले मुलुकको अर्थतन्त्र वृद्धि गर्न र महिला सशक्तीकरणमा ठूलो सहयोग पुगेको बताए  । 

“कर्णालीमा वित्तीय साक्षरता आवश्यक छ । ऋण लिनेहरु कहिल्यै पीडित हुँदैनन । ऋणीहरुलाई गुनासो राख्ने डेस्क बनाइएको छ”, गभर्नर अधिकारीले भने । उद्यमी, व्यवसायीलाई व्यापार व्यवसाय गर्न बाधा भए खबर गर्न सुझाउँदै उहाँले साना व्यवसायीलाई कर्जा दिन सहज व्यवस्था गरिएको उल्लेख गरे  ।  

प्रत्येक व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले सघाउन र उद्यमी तथा व्यवसायीलाई उत्पादनमा लाग्नुपर्नेमा जोड दिँदै गभर्नर अधिकारीले बैंकर्स र व्यवसायीबीचको सुमधुर सम्बन्ध हुनुपर्ने बताए। 

छलफलमा उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेललगायतले व्यवसायी डुबेर पलायन हुने र आत्महत्या गर्नुपर्ने समस्या एवं चुनौती दिनानुदिन बढ्दै गएको भन्दै आर्थिक सुधारका लागि मौद्रिक नीति उद्योगी तथा व्यवसायीमैत्री ल्याउन राष्ट्र बैंकलाई अनुरोध गरे  ।

उक्त छलफलमा सुर्खेतस्थित बैंकका प्रबन्धक, लघुवित्त तथा औद्योगिक ग्राम सञ्चालक, सरकारी निकायका प्रमुख, उद्यमी, व्यवसायीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  २२:०१
प्रतिक्रिया दिनुहोस्