छानबिन समितिमा आफ्नो नाम किट्दा रविलाई आपत्ति नहुने, कार्यदलको छलफल चल्दै

मंगलबार, जेठ ८, २०८१

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउँदा आफ्नो नाम किटान गर्दा आपत्ति नहुने धारणा अघि सारेका छन् । यसअघि आफ्नो नाम किटान गरिए समितिमा नै नबस्ने अडान लिएको रास्वपाले यसपटक भने आफ्नो नाम राख्दा कुनै आपत्ति नहुने सन्देश कांग्रेस नेताहरुसमक्ष पठाएको छ ।

प्रतिनिधिसभामा सम्बोधन गरेका लामिछानेले आफूमाथि राष्ट्रियमात्रै नभएर अन्तर्राष्ट्रिय छानबिन समिति बनेपनि आपत्ति नहुने धारणा राखेका थिए । उनले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नभएको र आफू ठग नभएको स्पष्टीकरण दिइसकेका छन् ।

कार्यदलमा रहेका एमाले नेताहरुले भने व्यक्तिकेन्द्रित छानबिन समिति बनाउँदा भोलिको लागि नराम्रो नजिर बस्ने भन्दै समग्र सहकारी समस्याको समाधानको लागि छानबिन समिति बनाउन सकिने अडान लिँदै आएका छन् । तर, छानबिनको निशानामा रहेका गृहमन्त्री लामिछानेले नै आफ्नो नाम उल्लेख गरेर नै समिति बनाईएपनि आफ्नो आपत्ति नहुने सन्देश प्रवाह गरेपछि सदनको अवरोध हट्ने बुझिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्