रविको दुश्मनीले कैलाश समातिएको होइन भन्दै प्रचण्डले दिए साविती बयान

बुधबार, जेठ ९, २०८१

हिजो समातिएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मुख खोलेका छन्। 

आज काठमाडौंमा आयोजित कार्यक्रममा दाहालले सरकारले कुनैपनि प्रतिशोध राखेर सिरोहियालाई पक्राउ नगरिएको बयान दिएका छन्। 

हिमाल, मानिस र जलवायुसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय संवाद कार्यक्रमपछि पत्रकारहरूसँग चन्द्रागिरीमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले अदालती प्रक्रियाबाटै सिरोहियामाथि छानबिन अगाडि बढेको बताएका हुन् । ‘अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्याछु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई, ’ उनले भने । सरकारले रिसइबी साध्यो भन्ने छ नि भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री दाहालले भने, ‘त्यो गलत कुरा हो । उहाँसँग केको रिसइबी ? ’ ।

प्रचण्डले सिरोहिया पक्राउ प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको व्यक्तिगत रिसिइबी नरहेको स्प्रष्ट पारेका छन् । ‘त्यो मान्छेले भन्ने कुरा मात्रै हो । अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ । यो हल नै भइहाल्छ ।’ उनले भने ।

उनी मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थियो। सिरोहियाले आफूविरूद्ध जाहेरी परेपछि सर्वोच्चमा निषेधको आदेश माग गर्दै रिटसमेत दायर गरिसकेका छन् । त्यसको अर्को पेशी जेठ १४ गतेका लागि तोकिएको छ। हिजै धनुषा पुर्याईएका उनलाई आज अदालतमा उपस्थित गराईनेछ। 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्