शेखरले सुनाए कांग्रेसको तयारी, गृहमन्त्री रविमाथि के-के थपिने भयो मुद्दाको भारी ?

बिहीबार, जेठ १०, २०८१

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता समेत रहेका प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुई वटा राहदानी र नागरिकताका विषयमा पनि छानबिन हुनुपर्ने माग तेर्स्याएका छन्। 

लामिछाने सहकारी ठगीको सरदार मात्र नभएर पासपोर्ट र नागरिकताका प्रकरणमा कानूनले चिन्ने कसुरदार भएको ठहर सहित कोइरालाले लामिछानेमाथि पासपोर्ट र नागरिकता छानबिनको माग गरेका हुन् । 

नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा प्रेस युनियन कोशी प्रदेशले आज (बिहीबार) विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विषय उठाएर माग गरेका हुन्। 

प्रचण्ड सरकार अधिनायवादतर्फ उन्मुख रहेको पनि कोइरालाले टिप्पणी गरे । नेता कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने चेतावनी दिए । उनले कांग्रेसले यो विषयमा सदन र सडक दुवैतर्फ दबाब बढाउने उद्घोष गरे । अपराधीका पक्षमा कांग्रेस पहिले पनि नभएको र अब त झन् हुन नसक्ने बताउँदै लामिछानेलाई कानूनी कठघरामा उभ्याएरै छोड्ने कोइरालाको प्रष्ट भनाई छ। 
 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्