सोसल मिडिया
युनिकोड
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनाको छानबिनबारे नयाँ प्रस्ताव अघि सारेपछि सत्तापक्ष आन्तरिक छलफलमा जुटेको छ ।
सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तयार गर्न गठित कार्यदलको बैठकमा कांग्रेसले सिधै रवि लामिछानेको नाम राख्नुको साटो उनी जोडिएका सहकारीको नाम राखेर समितिको टीओआर (कार्यादेश) बनाउन सकिने लचकतासहितको प्रस्ताव गरेपछि सत्तापक्ष आन्तरिक छलफलमा जुटेको हो ।
स्रोतका अनुसार कांग्रेसको उक्त प्रस्तावपछि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच अहिले केहीबेरमा छलफल हुँदैछ ।
प्रधानमन्त्री प्रचण्ड र ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलका लागि भेट्ने तय भएको छ । त्यसका लागि अध्यक्ष ओली बालुवाटारतर्फ लागेका छन् ।
शुक्रबार बिहान सिंहदरबारमा बसेको बैठकमा सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको विषयमा छानबिन गर्नेगरी समिति बनाउनुपर्ने माग गरिएको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
दुई नेता बिच क्याबिनेट फेरबदलका विषयमा पनि कुरा हुने बुझिएको छ। प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत लिएको अवस्थामा अब मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्नेमा दुवै नेता सहमत छन् । जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा र स्वतन्त्र सांसदलाई समेत समेटेर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदलाई पूर्णता दिने भएका हुन् ।