विकासशील राष्ट्रहरुको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लम्सालले छोडिन् देश

शुक्रबार, जेठ ११, २०८१

परराष्ट्र सचिव सेवा लम्साल यही जेठ १४ देखि १७ गतेसम्म एन्टिगुवा र बारबुडाको राजधानी सेन्ट जोन्समा आयोजना हुने विकासशील राष्ट्रहरुको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छन्। 

संयुक्त राष्ट्रसङ्घको संयोजनमा हुने साना टापु सम्बद्ध  विकासशील राष्ट्रहरुको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै उनी  त्यसतर्फ प्रस्थान गरेको  परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सम्मेलनको क्रममा उनले  अतिकम विकसित देशहरूको समूह (एलडिसी) को लागि विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षको रूपमा समूहको तर्फबाट वक्तव्य दिने कार्यक्रम छ  । परराष्ट्र सचिव लम्सालले सम्मेलनको अवसरमा द्विपक्षीय एवं बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ । 

दिगो विकासमा साना टापु विकासशील देशहरूको प्रगति समीक्षा र नयाँ दशकको लागि कार्य योजना प्रस्ताव गर्ने उद्देश्यका साथ हुने यस किसिमको सम्मेलन हरेक दश वर्षमा हुँदै आएको छ । चौथो सम्मेलन ‘उत्थानशील समृद्धितर्फको मार्गचित्र’ भन्ने नाराका साथ हँुदैछ ।  सम्मेलनमा ३७ देश सहित २० क्षेत्रीय आयोगका  सहयोगी सदस्यको सहभागिता रहने जनाइएको छ ।  परराष्ट्र सचिव जेठ १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  २१:५१
प्रतिक्रिया दिनुहोस्