सोसल मिडिया
युनिकोड
आम जनता पार्टीले विदेशमा गएका कामदारबाट लिइएको अवैध रकम फिर्ता दिलाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले कामदारबाट लिइएको अवैध रकम फिर्ता र बेथितिविरूद्ध सातै प्रदेशमा विरोधका कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।
बैठकले विदेशी नागरिकता लिएकाको सम्पत्ति कति र कहाँ छ भन्नेबारे खोजबिन गरी कब्जा गर्न सरकारलाई जनदबाव दिने निर्णय समेत गरेको अध्यक्ष साहले बताए । “भ्रष्टाचार नियन्त्रण गर्नमा राज्यका संयन्त्रको भूमिका प्रभावकारी भएन । त्यसैले बैंकले लिएको मनोमानी ब्याज फिर्ता गराउन सरकारलाई माग गर्ने र लघुवित्त र सहकारीको रकम अपचलन गर्ने विरुद्ध पीडित जनताको पक्षमा जारी सङ्घर्षलाई थप सशक्त, प्रभावकारी एवम् देशव्यापी बनाउने निर्णय गरिएको छ,” उनले भने ।
बैठकले शिक्षा क्षेत्रमा सुधारका निम्ति प्रत्येक विद्यालयमा विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न पुनः माग गरेको छ । बैठकले उपत्यका विशेष कमिटीसहित सातै प्रदेशका इन्चार्जलाई विभिन्न जिम्मेवारी समेत तोकेको जनाइएको छ ।