संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन एक नम्बरी नेता आफै जुट्ने

शनिबार, जेठ १२, २०८१

सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आइतबार बैठक बस्ने तय भएको छ । शनिबार उक्त विषयमा टुंगोमा नपुगेकाले बैठक आइतबार बस्ने तय गरिएको हो ।

कार्यादेशमा सहमति जुट्न नसकेपछि बैठक पुनः आइतबार बस्ने भएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत नेता सहभागी थिए ।

सहमहामन्त्री परियारले छलफल सकारात्मक भए पनि टुंगोमा पुर्‍याउने बाँकी काम आइतबार शीर्ष नेताबीचको बैठकले गर्ने बताए । उनले भने, “सहकारी सञ्चालकहरू, गोरखा मिडिया नेटवर्कलगायत कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारे समेत छानबिन गरिनुपर्छ भन्ने कुरा उठायौँ । त्यो कुरामा सहमति हुन सकेन ।” 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  २२:३७
प्रतिक्रिया दिनुहोस्